करिब आठ
दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए ।
लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन् । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री भइसकेका नेता हुन् ।
पिता दुर्गाप्रसादमा पनि राजनीतिक चेतना भएका कारण पौडेलको झुकाव सानैबाट राजनीतितिर बढेको उनका बालसखा ८६ वर्षीय फणीन्द्रराज मिश्र बताउँछन् ।
“बुबा आफू पनि पण्डित हुन्। उनलाई पनि शास्त्री पढाए । तर उनी पढ्दै जाँदा रामचन्द्र राजनीतिमा लागे। जेल पनि बसे,” मिश्र भन्छन् ।
“खान लगाउन समस्या नभए पनि” पौडेलले राजनीति सुरु गरेपछि आर्थिक अवस्थासँग समेत सङ्घर्ष गर्नुपरेको उनी निकट रहेर राजनीति गर्नेहरू बताउँछन् ।
उतारचढावपूणर् राजनीति
गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूणर् रहेको उनी निकटहरू बताउँछन् ।
पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन् ।
तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाण्डूमा आएका थिए ।
पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको उनी निकटहरू बताउँछन् । तर उनी कम्युनिस्ट राजनीतिमा आबद्ध चाहिँ भएनन् ।
“पोखरामा त्यस बेला कम्युनिस्टहरूको प्रभाव थियो । त्यसको प्रभाव उहाँमा भए पनि कम्युनिस्ट नै भएको चाहिँ होइन,” पूर्वसांसद अमरराज कैनी भन्छन् ।
संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन् ।
पौडेल यसअघि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बने पनि १७ पटकसम्म मतदान हुँदा पनि पराजित भएका थिए ।
देउवालाई अविश्वास
राजनीतिक जीवनको उत्तरार्द्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथ दिए । तर पौडेल र देउवाबीच सहकार्य र अविश्वासको शृङ्खला धेरै लामो छ ।
लामो समय कांग्रेस संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेका पौडेलले सरकारमा जाने विषयमा मतान्तर भएपछि भट्टराईको साथ छाडे ।
उनी गिरिजाप्रसाद कोइराला समूहसँग पनि निकट नभएका कारण स्वाभाविक रूपमा पार्टीमा फरक गुटको नेतृत्व गरिरहेका शेर बहादुर देउवासँग नजिक हुन पुगे ।
विसं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो। पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै थिए । तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निणर्य लिएको तत्कालीन कांग्रेस प्रजातान्त्रिकका नेता कैनी बताउँछन् ।
“उहाँले हामीलाई पनि प्रजातान्त्रिकमा जानुपर्छ भनेर मनाउनुभएको थियो। तर अन्तिम समयमा के भयो उहाँ पार्टी घोषणामा नआउने जानकारी दिनुभयो,” कैनी सम्झन्छन् ।
नेपाली कांग्रेस पुन एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बन्यो ।
देउवासँग प्रतिस्पर्धा
पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए ।
पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे ।
पौडेल देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भए ।
लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए ।
देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रहिरह्यो ।
तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए। पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भएको थियो ।
गोविन्दराज जोशीसँग टकराब
विसं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए । तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित हुनुमा तिक्ततापूणर् सम्बन्ध भएका पार्टीका नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसक्नु पनि कारण रहेको नेताहरू बताउँछन् ।
पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएका थिए। पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए । उनी मन्त्री भएका समयमा संसद्मा उपस्थित भएका बेला राष्ट्रिय सभामा उनीमाथि गोल्छे सार्कीले हातपात गरेको बताइन्छ ।
तर उनले त्यसपछि जिल्लाकै नेता जोशीसँग निर्वाचन क्षेत्र साटे । त्यस बेलासम्म राम्रो सम्बन्ध भएका दुवै नेताहरूबीचको सम्बन्ध त्यसपछि बिग्रियो ।
“उहाँहरूको सम्बन्ध बिग्रनुको कारण आन्तरिक प्रतिस्पर्धा नै हो,” कैनी भन्छन् ।
कांग्रेसको राजनीतिमा अधिकांश समय पौडेल कृष्णप्रसाद भट्टराई र देउवा समूह नजिक रहे भने जोशी कोइराला समूह नजिक रहे ।
पौडेलका आलोचकहरूले उनी लोभी भएको टिप्पणी गर्ने गरेका छन् ।
तर पौडेलसँग करिब पाँच दशक सङ्गत गरेका कैनी उनी बाहिर टिप्पणी गर्ने गरिएको जस्तो लोभी नभएको बताउँछन् ।
बरु आफ्ना सहकर्मीहरूलाई राजनीतिकमा सहयोग नगर्ने पौडेलको कमजोरी कैनी औँल्याउँछन् ।
“साथीका लागि सहयोग गर्ने र राजनीतिमा स्थापित गराउन योगदान नगर्ने चाहिँ उहाँको कमजोरी जस्तो लाग्छ,” कैनी भन्छन् ।
पौडेललाई राजनीतिमा नैतिकवान् मान्नेहरू पनि छन् ।
लामो समय संसदीय राजनीतिमा पौडेलसँग काम गरेका नेता हृदयेश त्रिपाठी पौडेल प्रजातान्त्रिक मूल्य मान्यतामा सम्झौता नगर्ने नेता भएको सम्झिछन् ।
“उहाँ प्रजातन्त्रका लागि प्रतिबद्ध व्यक्ति हो। तर राजनीतिक बुझाइमा अलिकति सङ्कीणर्ता छ,” पौडेल प्रतिनिधिसभाको सभामुख रहेका समयमा सार्वजनिक लेखा समितिको सभापति रहेका त्रिपाठीले भने ।@bbc.comबाट ।