इलामः इलाम नगरपालिकामा सञ्चालित इलाम नगर खानेपानी वितरण तथा सरसफाई परियोजनाले कमसल सामाग्री प्रयोग भएको वा बिग्रिएको अवस्थाका सामग्रीहरु फेर्ने प्रतिबद्धता जनाएको छ ।
संघीय सांसद महेश बस्नेत, माओवादीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, इलाम नगरका प्रमुख केदार थापा, नेपाली काङ्ग्रेसका उपसभापति खगेन्द्र देवान तथा उपभोक्ता समितिका पदाधिकारीहरु र प्रतिनिधिमुलक उपभोक्ताहरुको उपस्थितिमा निर्माण कम्पनीले प्रतिबद्धता जनाएको हो ।
कामका विषयमा आयोजनाका निर्देशक रत्न लामिछाने, क्षेत्रीय आयोजना कार्यालयका टिम लिडर इन्द्रकुमार पौडेल, क्षेत्रीय आयोजना कार्यालयका विज्ञ जनक गिरी, परियोजनाको ठेकेदार कम्पनी रमण जिआईइटिसी जेभीका निर्देशक पवन महतोले इलामका खानेपानी उपभोक्ता सुमन श्रेष्ठ सहितले उठाएको मुद्धाको जवाफ दिएका छन् ।
समस्या समाधानको लागि तथा तुरुन्तै रेस्पोन्स गर्न इलाम नगरपालिकामा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी भएकाहरु विच छानविन गर्न तथा गुनासो सुनुवाई गर्न समिति चयन गरेको छ ।
क्षेत्रीय आयोजना कार्यालयका टिम लिडर इन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाई, उपभोक्ता समितिका सचिव तिलक ठकुरी, निर्माण व्यवसायी कम्पनीका मेघराज धिमाल तथा इञ्जिनियर नितेश शाह, कन्सल्ट्याण्टका तर्फबाट राम पछेरा, वडा अध्यक्षहरु नरेश श्रेष्ठ, नुतनदेव दुलाल, काजी बहादुर श्रेष्ठ, दुर्गा श्रेष्ठ मदन, गोपाल चौहान, दलबहादुर तामाङ तथा उपभोक्ताहरु राजकुमार भक्तराज, देवीप्रसाद पौडेल, कुमार श्रेष्ठ छन् ।
समितिले १५ दिन भित्रमा उठेका मुद्धाहरुको विषयमा छानविन गर्ने, गुनासो सुनुवाई गर्ने तथा मिटर र गेटभल्ब प्रमाणित गर्नुपर्ने अवस्थामा सो काम गर्ने सहमति भएको छ ।
१५ दिनको समय माग गरेकोप्रति आपत्ति जनाउदै उपभोक्ता सुमन श्रेष्ठले प्रयोग भएको सबै मिटर गुणस्तरहीन भएकोले सबै मिटर तत्काल फेर्नुपर्ने माग नै आफ्नो बटमलाईन भएको बताए । उनी १५ दिनको अवधि र समिति गठनप्रति असन्तुष्टि ब्यक्त गर्दै कार्यक्रमबाट बाहिरिएको इलाम ग्रिनले उल्लेख गरेको छ ।