मोरङः प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ ।
मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन पत्र प्रदेशका मन्त्री तिलकुमार मेयाङ्बोले बुझेका छन्। ज्ञापन पत्र बुझ्दै मन्त्री मेयाङ्बोले नाम विहीन प्रदेशको दबाबले नामकरण गरेको बताए ।
सभामुख बाबुराम गौतमले नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताउँदै पुनः नामाकरणको सम्भावना खुला नै रहेको बताएका छन् ।
ज्ञापन पत्र मार्फत् उनीहरूले तत्काल पुनः नामकरण गर्नुपर्ने चेतावनी दिएका छन् ।साथै पुनः नामकरण नगरे उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचान सहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।
प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको थियो । तर त्यसयता पहिचानवादी संगठनहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
कोशी नामकरणप्रति आपत्ति जनाउँदै गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।