इलामः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् ।
इलाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै बिहिबार अध्यक्ष ओलीले प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन्दोलनको कुनै औचित्य नहुने स्पष्ट पारे ।
कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ नराख्ने बताउँदै, प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाई मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाई पुर्याउन आन्दोलनकारीलाई सुुझाव दिए ।
‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, सबै दलले दुईतिहाईभन्दा बढी मतले पास गरेको हो,’ अध्यक्ष ओलीले भने, ‘नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं ।’
पक्राउ परेकालाई साँझ बिना शर्ता छोडियो
बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीलाई कालो झन्डा देखाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्तालाई साँझ बिना सर्त छोडिएको छ ।
उनिहरूलाई दिन भर प्रहरी कार्यालयमा राखेर साँझ छोडिएको बताइएको छ ।
कालो झण्डा देखाएको आरोपमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, रोङ गाउँपालिकाका विक्रम राई, देउमाई नगरपालिकाका धर्म लिम्बू, कुमार फत्र, महेश फियाक, पाँचथर फाल्गुनन्द गाउँपालिकाका गणेश लिम्बूलाई लछार पछार गर्दै नियन्त्रणमा लिइएको थियो ।
युवा संघका कार्यकर्ता र कोशी नाम खारेज माग गर्ने प्रदर्शनकारीबीच झडपको अवस्था आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ओली इलामको कन्यामबाट सदरमुकाम जाँदा मेची राजमार्गको गोदक खण्डमा आन्दोलनकारीले रुख ढालेर बाटो अवरोध गरेका थिए । अवरोध चिर्दै इलाम बजार पुग्दा उनलाई कालोझन्डा देखाइएको हो ।
प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतले कोशी प्रदेश नामकरण गरेको हो । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशका ८२ सांसदले कोशी नामको पक्षमा मतदान गरेका छन् । नामकरण पश्चात यसको स्वागत र विरोध दुवै हुदै आएको छ । पहिचान पक्षधरले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । तर, आन्दोलन अराजक बन्दै जाँदा यसको आलोचना पनि बढ्न थालेको छ ।