इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ ।
गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ ।
गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, वन क्षेत्र र बाटाका आसपास रहेका ठूलाठूला ढुुङ्गामा कुँदिएको शिलाहरूमा रंगरोगनको काम भइरहेको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढालबहादुर गुरूङले जानकारी गराए ।
संरक्षण समितिले बौध धर्मसँग सम्बन्धित पुराना ऐतिहासिक पुरातात्विक सम्पदाको रूपमा रहेको शिलाहरूको संरक्षणको काम थालिएको एघार महिना पुग्दा ६० भन्दा शिलाहरूको सरसफाई र रंगरोगनको काम सकिएको समितिका अध्यक्ष दोर्ची सेर्पाले जानकारी गराए ।
अध्यक्ष सेर्पाकाका अनुसार संरक्षणको काममा स्थानीय धर्मावलम्बीसँगै विदेशमा रहेको धार्मिक आस्था राख्ने दाताहरूले दिएको १२ लाख भन्दा बढि खर्च भइसकेको छ ।
सन्दकपुर गाउँपालिकाको जमुुना, माबु र प्याङका विभिन्न क्षेत्रका गुम्बा, खुला डाँडा, वन क्षेत्रमा शिलाहरू देख्न सकिन्छ । माइजोगमाई गाउँपालिकाको सोयाङ, स्यालढुुङ्गा, भोटेटार, जोगमाई, शंखाबुुङ, खोल्नु लगायतको ठाउँमा शिलाहरू रहेको पाइन्छ ।
शिलाको सरसफाइमा स्थानीयवासीले श्रमदान समेत गरिहेका छन् । यसका साथै रंगरोगन भईसकेको शिलामा बर्खाको समयमा सुरक्षाको बन्दोवस्त समेत गरिरहेको छन् ।
दुई गाउँपालिकामा शिलाको तथ्याङ्क समेत नभएकोले यसको तथ्याङ्क संकलन गर्दै आगामी दिनमा शिला रहेको स्थानमा पुुग्ने पदमार्ग निर्माण गर्ने, पदमार्गमामा हिड्ने यात्रुका लागि प्रतिक्षालय र खानेपानीको समेत व्यवस्था गर्ने बृहद योजनाका साथ समितिले काम थालेकोले लगानीको आकलन गर्ने समितिका अध्यक्ष दोर्ची सेर्पाले बताउँछन् । तर काम सक्ने समय सीमा नभएकोले दाताहरूको सहयोगमा निरन्तर काम गर्दै जाने अध्यक्ष सेर्पा बताउँछन् ।
कति वर्ष पुरानो शिला र यसमा के लेखिएको छ ?
ॐ मणि पद्मे हुुँ ! धार्मिक ग्रन्थको मुख्य वाणी, मन्त्र लेखिएको शिला कति बर्ष पुरानो हो भन्ने विषयमा स्थानीयवासी जानकार छैनन् ।
सन्दकपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढालबहादुर गुरूङका अनुसार ९० वर्ष पुुगेका स्थानीयले समेत यसको बारेमा जानकारी दिन सकेका छैनन् । खाली अनुमानको आधारमा अढाई तीन सय वर्ष पुरानो हो मात्र भन्ने गर्छन् ।
शिलामा साम्भोटासँगै रञ्जना लिपिमा तिब्बतीयन भाषामा कुँदिएको छ । लेखिएको शिलाहरूमा बौध ग्रन्थको वाणीहरू छन् ।
कुँदिएका शिलामा भाषालाई हेर्दा सबै खालका मृत्यू वरण गर्ने प्राणीको मुक्ति होस्, विश्वमा शान्ति फैलियोस्, शान्ति होस्, भन्ने लगायतको वाक्याशं लेखिएको संरक्षण समितिका अध्यक्ष दोर्ची सेर्पाले बताए ।
समितिको कामले पुरातात्विक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटनको आर्कषण बढेको स्थानीयवासीको भनाई छ । जसले पुराना कलाकृतिको संरक्षण तथा अध्ययनमा सहयोग पुगेको छ ।