इलाम: ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएपछि सरोकारवालले अनिबार अनुगमन गर्दै आयोजनाको सम्पन्न भएको जनाइएको हो ।
अनुुगमनमा जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा इलाम नगरपालिकाकी उपमेयर बिष्णुकुमारी दहाल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका गणेश बराल, माओवादी केन्द्रका बिजय खम्बु तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल इलाम नगरपालिका चारका वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, आठका वडाध्यक्ष दलमान तामाङ लगायतको उपस्थिती रहेको थियो ।
आयोजनाको सम्पन्न भएकाले खानेपानी वितरणको जिम्मेवारी नगरपालिकाले पाएको छ ।
आयोजनाले बजार क्षेत्रका ३३ सय ४४ घरमा प्रतिसेकेन्ड करिव ४३ लिटर पानी पुुर्याइरहेको बताइएको छ ।
आयोजनाको काम सम्पन्न नहुँदै तीन सय बढि उपभोक्ताको संख्या थपिएकाले थपिएका घरमा धारा जोड्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
दैनिक दुई पटक पानी वितरण हुँदै आएको छ । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भएकाले मर्मतको काम समेत भइरहेको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताए ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो ।
खानीपानी आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । खानेपानी प्रत्यके घरघरमा पुर्याउँन उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ ।
आयोजनाले ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानिय उपभोक्ताहरुले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए ।
आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ ।
आयोजनाले सन्दपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०-१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति हुँदै आएको बताइएको छ ।
आयोजना सम्पन्न भएपनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नु पर्ने जनाइएको छ ।
नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको थियो ।
आयोजनाको काम ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।