इलामः विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको काले दमाई पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
इलाम नगरपालिका, हरित शान्ति अभियान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, उप-प्रमुख बिष्णु दाहाल, जिल्ला प्रशासन कार्यालयका इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, नेपाली सेना, नेपाल प्रहरी एवं शसस्त्र प्रहरी बल नेपाल सहभागिता रहेको थियो ।
कार्यक्रममा सरसफाईसँगै विभिन्न किसिमका बोट बिरुवाहरू रोपिएको जनाइएको छ ।
के हो विश्व वातावरण दिवस
जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने प्लास्टिक प्रदुषण विरुद्ध लागौँ छ ।
विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ ।
यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदुषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
वातावरण दिवसको पृष्ठभूमि१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।
नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।