ओखलढुंगाः मुख्यमन्त्री कप फुटबलको उपाधि इलामले हात पारेको छ । ओखलढुंगामा शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३-० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि हात पारेको हो ।
उपाधिसँगै इलामले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफी, मेडल पायो ।
उपाधिका लागि विशाल तामाङ, युवराज राई र विनोद धमलाले क्रमशः ५९, ७९ र ८४ औं मिनेटमा गोल गरे ।
फाइनल खेलको म्यान अफ दि म्याच इलामका पिकेश लोक्तामले पाए भने उत्कृष्ट गोलरक्षक मौसम मगर, उत्कृष्ट डिफेन्डर आयुष तिमिल्सिना, उत्कृष्ट स्ट्राईकर संखुवासभाका मन्दिप राई र बेस्ट कोच इलामका छिरिङ पासाङले पाए ।
धेरै गोलकर्ताको पुरस्कार ओखलढुंगाका सन्जय गुरुङ र म्यान अफ दि सिरिजको उपाधि इलामका विशाल तामाङले पाए । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाए ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा गत असार ४ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । कोशी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ जिल्लाको भने सहभागिता रहेन । अन्य १३ जिल्लाबीचको प्रतिस्पर्धाबाट इलाम र संखुवासभा फाइनलमा पुगेका थिए ।@kenjokhabar.comबाट ।