इलाम: जिल्ला प्रशासन कार्यालयले इलाम बजारको कृषि बिज भण्डारमा रहेको रासायनिक मल जफत गरेको छ ।
बिक्री अनुमती पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँन नसकेपछि मल जफत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बिक्री गर्ने पसल बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना समेत तोकेको छ ।
बजारको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको बिज भण्डारमा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिमाना तोकिएको हो ।
गत बुधबार बजार अनुगमन गर्ने क्रममा बिज भण्डारमा अनुदानको ३४ बोरा युरिया र १८ बोरा डिएपी फेला परेको थियो । पसललाई ३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्ने समय आइतबार सकिएकाले आवश्यक कारबाही गरिएको बताइएको छ ।
नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि बिज भण्डारलाई बुधबार नै जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेकोे थियो ।
३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, कर कार्यालय, इलाम नगरपालिका सहितको अनुगमन टोलीले यो कृषि बीज भण्डारलाई निर्देशन दिएपनि आवश्यक कागजात बुझाउँन नसकेपछि मल जफत गरी इलाम नगरपालिकालाई बुझाइएको जनाइएको छ ।
पसल सञ्चालकले झापाको चारआलीबाट मल ल्याएको भने पनि त्यस सम्बन्धी कुनै पनि प्रमाण नभेटिएको जनाइएको छ । मलकै विषयमा सूर्योज्योति सहकारीका व्यवस्थापकलाई समेत छानबिन भईरहेको बताइएको छ ।