विराटनगरः कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले सरकार गठनका लागि निणर्ायक मत रहेको सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख खापुङले सरकारको दाबी पेसका लागि पाँच बजेसम्मको समयावधि दिएका थिए ।
प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुखको आह्वान अनुसार कांग्रेसका थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
कांग्रेसका २९ , मोआवादीका १३, एसका ४ र जसपाकी १ सांसदको हस्ताक्षर बुझाइएको थियो। बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सभामुख रहेका माओवादीका बाबुराम गौतमले पनि हस्ताक्षर गरेका हुन् ।
यसअघि एमाले र राप्रपाले सभामुखको हस्ताक्षरसहितको दाबी आएमा अस्वीकार गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए । उनीहरुको ध्यानाकर्षणका बावजुद पनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।@nepallive.comबाट ।