इलाम: तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक गरेको छ । जिल्लाका सरोकारवालाको सहभागिता जिल्ला प्रशासन कार्यालयमा आइतबार नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको तथ्यांकमा इलामको कुल जनसंख्या दुई लाख ७९ हजार पाँच सय ३४ छ । इलाममा पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या एक लाख ३९ हजार चार सय ३१ पुरुष र महिलाको संख्या एक लाख ४० हजार एक सय तीन छ ।
सबैभन्दा धेरै सूर्योदय नगरपालिकाको ५४ हजा सात सय २७ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकाको १५ हजार चार सय ४४ छ । लैंगिक अनुपात ९९ दशमलव ५२ प्रतिशत रहेको छ ।
इलामको जनसंख्या २०६८ को भन्दा शुन्य दशमलव ३ प्रतिशतले घटेको छ । १० वर्षअघि इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुँदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिए । कार्यक्रममा तथ्याङ्क कार्यालय पाँचथरका तथ्याङ्क अधिकृत प्रेम नेपालले इलामको नजगणनाको नतिजा सार्वजनिक गरेका थिए ।
जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत छ। त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको शुन्य दशमलव ००१ प्रतिशत हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । जनगणनामा देशभर अक्सर बसोबास गर्ने सम्पूणर् व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिएको थियो । तथ्यांकले समग्र मुलुक, जिल्ला, पालिका र वडाका बिकास, ऐन, नीति निर्माणमा सहयोग पुरयाउँछ ।
जनसंख्याको सम्पूर्ण विवरण यहाँ