फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो ।
समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा बरामद भएका १८ प्याकेट पाउरोटी, २ प्याकेट निम्की, १४ प्याकेट डुनट, २ प्याकेट कोकीस, ३ प्याकेट बम्बैसन, १५ प्याकेट इन्डियन थुक्पा, २ प्याकेट मरिच पाउडर, ३१ प्याकेट खुर्सानी पाउडर, सब्जी मसला, ११ प्याकेट, लेज १० प्याकेट सहित अन्य खाद्य बस्तु नष्ट गरेको बजार अनुगमन समितिका संयोजक मदन गुरुङले जानकारी दिए ।
सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई, प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीको रोहवरमा बरामद भएको सामग्री नष्ट गरिएको हो ।
समितिका संयोजक दुर्गा कुमार बरालको अध्यक्षतामा बसेको बैठकले अखाद्य बस्तु नष्ट गर्ने निणर्य गरेको थियो । बैठकले बजार अनुगमनलाई तिब्रता दिने निणर्य समेत गरेको छ । बैठकले अनुगमन निर्देशिका समेत तयार गरी नगरको कार्यपालिका बैठकमा पेश गर्ने निणर्य गरेको छ ।
केहि दिन अघि नगरले फिक्कलका सब्जी पसल, मासु पसल, सुनचाँदी पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुनचाँदी पसललाई तौलमा एक रुपता कायम गर्न र तराजु दर्ता नविकरण गर्न निर्देशन दिएको बताइएको छ ।