इलाम: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले पत्रकार ज्ञानु केदेमलाई पुरस्कृत गर्ने भएको छ ।
केदेमलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार बापत नगद १० हजार प्रदान गरिने महासंघले जनाएको छ ।
फोनिजको इलाम बजारमा हुँने २४ औं स्थापना दिवसको अवसरमा भदौं १८ गते सोमबार पुरस्कार प्रदान गरिने छ ।
माङसेबुङ मासिक म्यागजिनका उप-सम्पादक केदेमको पत्रकारिताको १५ वर्षको अनुभव छ । पत्रकार केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्य समिति सदस्य हुन् ।
फोनिज इलामले स्थापना गरेको पुरस्कारबाट यसअघि पत्रकार सटेन्द्र बजेगुु पुरस्कृत भएका छन् ।
पुरस्कार व्यवस्थापन गर्न फोनिजले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ बनाई पुरस्कार कोष स्थापना गरेको छ ।
सोही पुरस्कार कोषबाट बर्सेनी एकजना आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत वितरण गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी गराए ।
फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूणर् योगदान पुर्र्याउने आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।
ताप्लेजुुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका ६, (साविक लेलेप-१) जन्मेका ज्ञानु केदेम अहिले माङ्सेबुङ गाउँपालिका -५, इलामका स्थायी वासिन्दा हुन ।
स्नातक तहसम्म अध्ययन गरेका केदेमले अहिले माङसेबुङ मासिक, किरात इङसे अनलाइन, सम्पादक- मुक्कुमफूङ दैमासिक २०६४-२०६८, सहायक स्टेशन प्रमुख तथा समाचार सम्पादक- रेडियो माङसेबुङ २०७३-०७८ जिम्मेवारी सम्हाली रहेका छन् ।
सम्पादन सहयोगी – माङगेन्ना मासिक २०६६-०७२, सम्पादक – साक्थिम समसाययिक पत्रिका २०६८ देखि हालसम्म, सम्वाददाता – इक्ला साप्ताहिक २०७३-२०७३, विशेष सम्वाददाता – विश्व किरात आवाज मासिक २०६९-०७० कार्यालय प्रतिनिधि – हाम्रो बुलन्द आवाज पाक्षिक २०६४-०६६ मा काम गरी सक्नु भएको छ ।
यसका साथै अध्यक्ष – किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो, सचिव – किरात इङभो पान्जुम्भोको जिम्मेवारी पुरा गरेर अध्यक्ष – प्रेस मञ्च नेपाल जिल्ला समिति इलामको जिम्मेवारीमा छन् ।