“जनतासँग माओबादी – विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन जित्ने काम गर्नुपर्ने हुन्छ ।
जनताको विश्वास जित्न उनीहरूको भनाई र गराइबीच एकरूपता हुनै पर्छ । बडेबडे कुरा गर्ने तर काम ठीक उल्टो मात्र गर्ने वा कामका नाममा सिन्को नभाँच्ने कुनै पनि पार्टीले यो दुर्भाग्यपूणर् परिस्थिति नउल्ट्याउँन्जेल त्यस्ता पार्टी रूपान्तरण होलान् भन्ने परिस्थिति नै छैन । वास्तवमा भन्ने हो, भने माओवादीले हाँकेको त्यो जनयुद्ध त्यति छोटो अवधिमा जनताले त्यति धेरै साथ सहयोग गर्नुमा उनीहरूले जनता माझमा गरेका केही काम नै थिए भन्ने कुरा जनताका बीचमा जाने माओवादीका हरेक नेता कार्यकर्ताले मनन गर्नैपर्छ ।
बडेबडे सैद्धान्तिक एवं वैचारिक कुरा भन्दा ती सैद्धान्तिक वैचारिक कुरा व्यवहारमा समेत झल्किएमा मात्र जनताको मन जित्न सकिदोरहेछ, भन्ने कुराको प्रमाण स्वयं माओवादी नै हो ।
शुरुका दिनमा रूकुम, रोल्पा लगायत पश्चिम नेपालका केही जिल्लामा सीमित माओबादी छोटै अवधिमा चटटटटट गर्दै डढेलो लागे झैं गरेर मुलुकै भरी फैलनुको मुख्य कारण नै माओबादीले गरेका साना साना काम नै थिए, भन्ने कुरालाई मात्र माओवादी नेता कार्यकर्ताले गहिरोसँग मनन गरे, भने यो अभियान औचित्यपूणर् हुने देखिन्छ ।
सुन्दा अत्यन्तै सामान्य जस्तो लाग्ने जनतासँग प्रत्यक्ष रूपमा जोडिएका त्यस्ता केही प्रतिनिधिमुलक सवाल निम्नानुसार थिए । विशेष रुपान्तरण अभियान लिएर जनताका बीचमा गएका माओवादी नेताकार्यकर्ता आज ती सवालमा कति गम्भीर छन् ?
१) त्यति छोटो अवधिमा माओवादी पूर्वमा समेत फैलनुको एउटा मुख्य कारण थियो – माओवादीले अन्यायमा परेका जनतालाई न्याय प्रदान गर्छ भन्ने जनविश्वास । उति बेला उनीहरूले जनताका घरघर र टोलटोलमा पुगेर अन्यायमा परेका जनतालाई न्याय प्रदान गर्ने गरेका थिए । यतिसम्म कि मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गर्ने पुरूषहरू माओवादीको “म“ सुन्नासाथ थुर्थुर काम्न थाल्थे । यहि एउटा कामले समाजमा ठूलो सन्देश प्रवाह भएको थियो ।
घरघरमा घरेलु हिंसाको सिकार भएका धेरै सर्वसाधारण जनताले ठुलो राहत अनुभुती गरेका थिए । आज परिस्थिति ठीक उल्टो छ । आज माओबादीका कतिपय नेताकार्यकर्ता वा उनका भातृ संघ संगठनका कतिपय नाइकेहरू अन्यायका पर्याय बनेर समाजमा प्रस्तुत भएका छन् ! यसका कयौं प्रमाण पछार्न सकिन्छ । माओबादी पार्टी उनै अत्याचारीहरूलाई काँध हाल्दै अन्यायमा परेका जनताका आला घाउमा नुनचुक गर्दै हिडेका छन् ! अनि उनीहरू रूपान्तरण होलान् भनेर कसरी पत्याउने ?
२) माओबादी त्यति छोटो समयमा मुलुकैभरी फैलनुको दोश्रो मुख्य कारण थियो – समाजमा व्याप्त विकृति र विसङ्गतिको अन्त्य गर्नु । जथाभावी मादक पदार्थको सेवन गरेर गुन्डागर्दी गर्दै हिड्ने डन लगायत जुवातास खेलेर समाजमा विकृती फैलाउनेहरूलाई माओवादीले नै तह लगाएको थियो । यति सम्मकी तास खेल्नेलाई तासै खुवाएर कार्वाही गर्ने वा क्यारम्बोर्ड खेलेर समय बर्बाद गर्नेहरूलाई क्यारम्बोर्डका गोटी नै चपाउन लगाउने वा भाटे कार्वाही गर्ने जस्ता कुरालाई नेपाली जनताले ठूलो साथ सहयोग दिएका थिए । फलस्वरूप त्यस्ता विकृती विसङ्गतिको सिकार हुँदै आएका उत्पीडित जन समुदायले माओवादीलाई अनेक प्रकारका सहयोग गरेका थिए । तर आज उनै माओवादीका कतिपय नेता कार्यकर्ता ती विकृति विसङ्गतिका पर्याय बनेका छन् ! यो अभियानले यस्तो दुर्भाग्यपूणर् अवस्थामा रूपान्तरण गर्ला भनेर पत्याउन सकिने अवस्था छ र ?
३) शिक्षण संस्थामा शिक्षकको जागिर खाने तर दलका नेताकार्यकर्ता वा उनै दलका भातृ संघसंगठनका नेताकार्यकर्ता भएर नपढाउने शिक्षकलाई त माओवादीले कार्वाही नगरेको सायद कुनै जिल्ला नै थिएन होला ! तर आज माओवादी निकट दलमा आवद्ध कतिपय शिक्षकहरू नै नियमित पठनपाठनमा रमाउने शिक्षकहरूलाई अकल्पनीय दुःख पीडा दिँदै हिडेका छन् ! अन्याय र अत्याचारका पर्याय बनेर सारा शैक्षिक संस्थाको वातावरण हुडल्दै हिडेका छन् ! यो अभियानले यो दुर्भाग्यपूणर् परिस्थिति उल्टयाएर कम्तिमा गरिखाने शिक्षकवर्ग त्यस्तो घोर अन्याय अत्याचारबाट मुक्त होलान् भनेर पत्याउन सकिने अवस्थै छैन भने यो रूपान्तरण अभियान कसरी औचित्यपूणर् होला र ?
४) उतिबेला माओबादी जनतामाझ लोकप्रिय हुनुको अर्को प्रमुख कारण थियो उसले छेडेको भ्रष्टाचार विरोधी अभियान ! आज स्वयं माओवादीका नेताकार्यकर्ता नै बडेबडे भ्रष्टाचारमा सामेल भएका कुरा दिनहुुँ जसो सार्वजनिक भैरहेका छन् ! माओवादीको विशेष रूपान्तरण अभियानले माओवादी साच्चै भ्रष्टाचार विरोधी पार्टी हो भन्ने त्यो जन विश्वास पुनः आर्जन गर्ला भनेर पत्याउन सकिने अवस्था आज छ र ?
उतिबेला माओवादी लोकप्रिय हुनुका यी र यस्ता केही प्रतिनिधिमुलक काम गरेरै आज पनि माओवादीले जनताको मन जित्न सक्यो भने मात्र उक्त अभियानको औचित्य पुष्टि हुने देखिन्छ ! तर यी र यस्ता काम गरेर आफू रूपान्तरण भएको सन्देश छर्न यो अभियान सफल होला त ? कसरी पत्याउने होला र खोइ ? @फेसबुक पेजबाट।