इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् ।
माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।
सूर्योदय नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष डिक बम्जनको अध्यक्षतामा बसपार्कदेखि अवसरमा निकालिएको र्याली सीमा नाका फाटकसम्म पुगेर भन्सार कार्यालयमा भएको कोण सभामा नेपाल तथा भारतका नेतृत्वले मानव बेचबिखनको समस्या समाधान गर्न सरोकारवालासँग सर्वसाधारण सबैको दायित्व भएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बेचबिखनको समस्या समाजको प्रमुख समस्या भएकोले सरोकारवालासँग सर्वसाधारणको सहयोगले मात्र न्यूनिकरण गर्न सकिने बताए । उनले बेचबिखन सामाजिक समस्या भएको भन्दै बेचबिखनका विषयमा समाजका सबै सदस्य चनाखो हुन सुझाए ।
भारत दार्जीलिङ रामबाङ ग्राम पञ्चायतका पूर्व अध्यक्ष बुद्ध तामाङले बेचबिखनको समस्या समाधानमा सीमा आसपासका जनप्रतिनीधि, सरोकारवाला सर्वसाधारण सबैले काम गर्नुु पर्नेमा जोड दिए । उनले सीमा क्षेत्रका स्थानीयवासी सचेत हुँदै सरकारी तथा वोर्डर सुरक्षामा खटिएका कर्मचारीले चनाखो हुँन आग्रह गरे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, महिला तथा बालबालिका शाखा प्रमुख तारा सेर्पा, भारतीय तर्फ कष्टम इन्सपेक्टर दिपने गुरूङ, एसएसबी इन्सपेक्टर बुद्ध राना, प्रहरी फूर्वा पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।
‘हाम्रो आवाजः चेलीबेटी बेचबिखनबाट मुक्त समाज, सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ भन्ने नाराका साथ भएको कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, व्यपारी, उद्योगी व्यवसायी, सुरक्षकर्मी र सर्वसाधारणको सभागिता रहेको थियो ।
साँझमा इलाम चोक बजारमा दिप प्रज्वलन
दिवसको अवसरमा साँझ इलामको चोक बजारमा दिप प्रज्वलन गरिएको छ । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा संयोजनमा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको अध्यक्षता भएको थियो ।
इलाम उद्योग वाणिज्य संघ अमेरिकन कर्नरले व्यवस्थापन गरेको कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष कमलप्रसाद नेपालले सामाजिक समस्याको रूपमा देखा परेको बेचबिखन न्यूनिकरण गर्न सवैले सहयोग गर्नु पर्ने बताए ।
मानव बेचबिखन विरुद्धको दिवस के हो र किन
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका सांसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्षको भाद्र २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरू गरिएको हो ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको काम पूणर् रूपमा सफल हुन सकेको छैन ।
मानव बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनर्स्थापना केन्द्रको स्थापना गरेको छ । केन्द्रको सञ्चालन यथोचित व्यवस्थापन हुन सकेको छैन । यी सबै कुराहरूलाई ध्यानमा राख्दै मानव बेचबिखन र ओसारपसार विरुद्ध पैरवी गर्न र जनचेतना फैलाउने अनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ नेपालमा सो दिवस मनाउन थालिएको हो ।
नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो । यसका स्वरूपहरू दिनदिनै फेरिदै गइरेका छन् । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू वर्तमानमा विश्वभरी नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् ।
मानव बेचबिखन मात्र होइन जोखिमपूणर् काम र मानव अङ्ग तस्करका लागि नेपाली पुरुषहरूको पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बेचबिखन भई नै रहेको छ । फरक स्वरूप र परिवेशमा मानव बेचबिखनका घटनाहरू झनै बढिरहेको छ । यसको समाधानमा सरकार, नागरिक समाज र प्रत्येक नागरिक सचेत हुन आवश्यक छ ।