शालिन नेता सुवास नेम्बाङ ७१ वर्षमा अकल्पिनीय निधन


सेवारो खबर  138 पटक हेरिएको

काठमाण्डौः नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ ।

नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष भए । सभामुख पनि बनि सकेका छन् । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित भएका हुँन ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए ।

एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि, स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने ।

विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री समेत भए । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति बने ।

२०६३ सालको अन्तरिम संसदमा सभामुख चयन भए । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि अध्यक्ष भए । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताए । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा महत्त्वपूणर् भूमिका खेलेका नेम्वाङप्रति भावपूणर् श्रद्धाञ्जली ।@ujyaaloonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार