नुनाम यामका केही रुवाईहरु


नुनाम याम  249 पटक हेरिएको

१.
जीवनको अर्को रूप हुन सक्छ ।
भेलको भँगालोले छुटाउन सक्छ ॥
भाग्नु हुँदैन किनारासँग एक्लै त ।
सफलताको धारहरूले नछुन सक्छ ॥

२.
जीवन लेखेर भाग्य बनाउँनेहरू ।
आफूलाई दबाएर उदाउँनेहरू ॥
मरेर बाँची रहन्छन् सधैं सधैं ।
जीवनलाई चिनेर मुलबाटो समाउनेहरू ॥

३.
हिड्छ जीवन, कहिले हिड्छ जवानी ।
सघंर्षका कथासँगै हुन्छ उस्तै कहानी ॥
सुख दुःख आफू आफ्नो आफ्नै हुन्छ ।
घुमाउँने ठाउँ बेग्लै हुन्छ उस्तै मधानी ॥

४.
एका बिहानै फेसबुकका भित्तामा भरिएका श्रद्वाञ्जलीले ।
सधैं सधैं निरास बनाउँछ, यी सहानुभूतिका शब्दावलीले ॥
के सिकाउँदै छौं, र म के सिक्दैछुु, बाँकी बाँच्नु न नबाँच्नु ।
बनाउँछौं र अर्ध मृत सपनामा तस्बिरहरू टाँसेर मलामीले ॥

५.
सबै कुरा आफ्नो, अनुकूल हुँदैन ।
वचन तिम्रो सधैं, सुनफूल हुुँदैन ॥
सुन सुनै हो, फूल फूलै हो, सधैं ।
कसरी भन्छौं मेरो, महभूल हुुँदैन ॥

६.
भ्रमको विश्वासका स्वासहरुमा ॥
अगती आस्थाका विरोधाभाषहरुमा ॥
बुझेका छौ र बुझ्छौ प्रमाण बिनाका ॥
झुटा तर्क, भाषा र नमिल्ने आशहरुमा ।

७.
विभेदकै विरूद्वमा विभेद हेर्दैछु ।
अवसरको नाममा मतभेद हेर्दैछु ॥
भूँइ मान्छे म हेर्दा हेर्दै थाकेको छुु ।
शिखर सधैं तिम्रो म फेद हेर्दैछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार