समाजमा स्वस्थ रक्तसञ्चार गर्ने मन मुटु हुन् शिक्षक भनेका । उनीहरूको सोझो सम्बन्ध समाज रुपान्तरणसँग हुन्छ । विकसित मुलुकहरूका इतिहासले यसै भन्छ । दुनियाँ परिवर्तनशील छ र हरेक विद्यार्थीका मन मस्तिष्कमा त्यो परिवर्तनको तरङ्ग स्वयं शिक्षकले नै पैदा गर्ने हो । हरेक शिक्षकले हरेक विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्छ । व्यावहारिक एवं बैज्ञानिक शिक्षा प्रदान गरेर उनीहरूलाई ज्ञान सीपयुक्त बनाउनु पर्छ । राज्यलाई आवश्यक पर्ने दक्ष, योग्य र नैतिकवान जन शक्ति उत्पादन गर्ने प्रमुख अभिभारा शिक्षककै काँधमा हुन्छ । शिक्षकले उत्पादन गरेका जन शक्ति नै मुलुककका नेता, कर्मचारी, प्रहरी, सेना, वकिल, प्राध्यापक, पत्रकार, डाक्टर, इन्जिनियर आदि हुने भएकाले पनि शिक्षक सबभन्दा धेरै जिम्मेवार, नैतिकवान एवं शिक्षण पेशाप्रति पुरै प्रतिबद्ध एवं इमान्दार हुनुपर्छ; अनि उस्ले पैदा गर्ने ती सबै जन शक्ति त्यस्तै जिम्मेवार, नैतिकवान र पेशागत मूल्य मान्यता प्रति प्रतिबद्ध एवं इमान्दार हुनेछन् ।
त्यस्ता जिम्मेवार, नैतिकवान र मुल्य मान्यता प्रति प्रतिबद्ध इमान्दार जन शक्ति जुरुक्क जागेपछि सामाजिक रुपान्तरणले फड्को मार्छ । यसरी मुलुक रुपान्तरणमा निणर्ायक भूमिका निर्वाह गर्ने सबैखाले जन शक्ति उत्पादन गर्ने प्रमुख अभिभारा शिक्षककै भएकाले पनि सन्सारमा शिक्षक पुजनीय छन् । शिक्षण सबभन्दा सम्मानित पेशाको रूपमा संसारका विकसित मुलुकमा स्थापित छ । तर नेपालको परिस्थिति ठीक उल्टो छ । शिक्षण पेशा सबभन्दा हेपिएको पेशा बनेको छ । आज पनि शिक्षकहरुलाई समेत निजामती कर्मचारी सरह सेवा सुविधा र सम्मान दिनु पर्यो भनेर शिक्षक आन्दोलनमा उत्रनु पर्ने निकै दुर्भाग्यपूणर् अवस्था छ । अझै हालै प्रस्तावित शिक्षा विधेयक निर्माणमा समेत उनै कर्मचारीहरु हावी भएर शिक्षकका अधिकार छिन्ने काम भएकाले अब शिक्षक वर्ग निणर्ायक आन्दोलनमा उत्रनु परेको कुराले माहोल निकै तात्दै गएको छ । यहाँ सबैले हेक्का राख्नैपर्ने एउटा कुरा के छ भने आज सिङ्गो मुलुक र राज्यका अङ्ग अङ्गलाई क्षत विक्षत बनाउने एउटैमात्र प्रमुख कारण भनेको नै चरम दलीयकरण हो । यस अर्थमा आजभोलि हुने जुनसुकै आन्दोलनको तारो सबैको त्यो साझा दुश्मन चरम दलीयकरणको उन्मुलन नै हुनुपर्ने हो । तर त्यस्तो अनुभुति आजका मितिसम्म गर्न सकिएको छैन । त्यो मुल मुद्दा ओझेलमा परेको र शिक्षकले हालै घोषणा गरेको आन्दोलनका सम्बन्धमा समेत केही पेचिला प्रश्न उत्पन्न भएका छन् ।
१) हिजो जस्ले विद्यार्थी आन्दोलन गरे, आज उनै मुलुकका नेता छन् ! विधार्थी पृष्ठभुमि भएका कतिपय नेताको पृष्ठभुमि शिक्षक समेत छ । उनीहरू मध्ये कति मन्त्री, सांसद आदि जस्ता कानुन निर्माणका निणर्ायक स्थानमा छन् । अनि उनै दल निकट शिक्षक संघ संगठनहरुको साझा संस्था शिक्षक महासंघ आज आन्दोलनको मैदानमा छ । आफ्नै दलका भातृ संघ संगठनहरुको साझा संस्था शिक्षक महासंघ नै उनै दलका सांसद हावी सरकार र संसदका विरुद्ध आन्दोलनमा होमिनु पर्ने परिस्थिति किन उत्पन्न भयो ?
२) त्यस्तै आज कर्मचारी वृत्तमा पनि उनै दलका भातृ संघसंगठनहरु नै हावी छन् भनिन्छ । उनै दल निकट कर्मचारीहरु नै शिक्षा विधेयक निर्माणमा पनि हावी छन् भनिन्छ । अनि आफ्नै दलका सरकार, संसद र शिक्षकवर्गलाई नै अप्ठ्यारो पार्ने त्यस्तो विवादास्पद शिक्षा विधेयकको ड्राफ्ट उनै दल निकट कर्मचारीहरुले नै तयार गर्नुको रहस्य के हो ?
३) दलका सरकार र संसद छन् ! उनै दल निकट कर्मचारी संघसंगठनको कर्मचारीतन्त्रमा निणर्ायक उपस्तिथि छ । उनै दल निकट शिक्षक संघसंगठनको साझा संस्था आन्दोलनमा होमिएको छ । मुलुक बर्बाद गर्ने प्रमुख कारण चरम दलीयकरण हो भन्ने कुरामा सबै सहमत छन् । त्यस्तो दलीयकरण अन्त्य गर्ने कुरा यस्ता आन्दोलनका प्रमुख मुद्दा बन्ने गरेका छैनन् । अनि सैद्धान्तिक रुपमा सबै एकै ठाउँ रहेकाहरुले पैदा गरेको आन्दोलनको परिस्थिति र उनैले घोषणा गरेको यो आन्दोलनलाई सर्वसाधारण जनताले कसरी बुझ्ने ?
नेता कर्मचारी समेत जन्माउने शिक्षकलाई सम्मान गर्नुपर्छ भन्ने चेतनाले लैस वैचारिक ढंगले समेत उनै दलमा आवद्ध कर्मचारीहरुकै सहयोगमा दलहरूकै सरकारले संसदमा पेश गरेको शिक्षा बिधेयकका विरुद्ध उनै दल निकटका शिक्षक संघसंगठनको साझा संस्था शिक्षक महासंघ आन्दोलनमा उत्रनुपर्ने कुराले उब्जाएका यी र यस्ता कयौं अनुत्तरित एवं पेचिला प्रश्नको जवाफ चाहिँ अब कस्ले देला ?
सन्सारकै सबभन्दा उत्कृष्ट शैक्षिक प्रणाली भएको मुलुक फीनल्यान्डका केही शैक्षिक विशेषता चाहिँ यस्ता रहेछन् ! हाम्रो नेपालको शिक्षा क्षेत्र त्यस्तै सम्मानित हुने दिन चाहिँ कहिल्यै आउँछ कि आउँदैन होला ?@फेसबुकबाट