विराटनगरमा कोशी प्रदेशको खारेजीको माग गर्दै बृहत मोटरसाइकल र्‍याली


सेवारो खबर  135 पटक हेरिएको


विराटनगरः कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर मंगलबार विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको छ ।

सुनसरीको ईटहरीमा भेला भई प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मान्दैनौ, कोशी प्रदेश नाम खारेज गर जस्ता नारा लगाउदै कोशी प्रदेश सरकार विरुद्ध नारावाजी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेबाट कुनै पनि सार्वजनिक स्थानहरुमा भेला तथा जुलुस नगर्न भन्दै सूचना जारी गरेको थियो । तर पहिचान पक्षधरले भने शान्तिपुर्वक कोणसभा सम्पन्न गरे ।

यस अघि पनि विराटनगरमा पहिचान पक्षधरले पटक पटक कोशी प्रदेशको नामाकरणको विषयमा आन्दोलन गर्दै आएको छ । आन्दोलन कै क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बिच झडप हुँदै आएको थियो ।

आन्दोलन कै क्रममा पदम लाजेहाङ्गको ज्यान गएको छ । तर मंगलबारको आन्दोलन भने शान्तिपुर्वक रहेका कारण कुनै पनि अप्रिय घटना भने हुन पाएन ।

आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षले संयमित भएका कारण पनि आजको प्रदर्शन शान्तिपुर्व रहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी कार्यलय विराटनगरले सुरक्षा व्यवस्थापनमा कडाईका साथ सुरक्षाकर्मी परिचालन गरेको प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

कोणसभालाई किराँत राई यायोक्खाका केन्द्रिय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुम चुम्लुङ केन्द्रीय समितीका अध्यक्ष प्रेम एक्तेन, पहिचान सहितको प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिती महासचिव रामभक्त कुरुम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टी ६ घटक का अध्यक्ष केपि पालुङ्वा, नागरिक उन्मुक्ती पाटी एकिकृतका सह सचिव पदम अधिकारी लगायतले पहिचानको आधारमा १ नम्बर प्रदेशको पुन नामकरण सहित संविधानमा आदिवासी जनजाती लगायत दलित उत्पिडित विरुद्धमा भएका धाराहरु संशोधन गर्न माग राखेको थिए ।@ourbiratnagar.net बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार