मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकप सातौं संस्करणको बुधबार सम्पन्न सेमी फाइनल खेलमा बिएसके जलपाइगुडी फाइनलमा प्रवेश गरेको छ ।
कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित हात पार्दै जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) नगद सुरक्षित गरेको छ ।
खेलको सुरू भएको पाँचौैं मिनटमा जलापइगुडीका करण राईले फ्रिकिक मार्फत पहिलो गोल गरे ।
१९ औ मिनेटमा सिलिगुडीले खेल बराबरी बनाउन सफल भयो । खेलको १९ औ मिनेटमा अनिश राईले फ्रिकिक मार्फत गोल गर्दै बराबर बनाउँन सफल भएको हो ।
२३ औ मिनेटमा करणले व्यक्तिगत दोश्रो गोल गरे । २६ औ मिनेटमा पेनाल्टी मार्फत खेल बराबरी गर्न अवसरलाई अनिश राईले खेर फाले । स्टेफेनले डिबक्स भित्र लडाएपछि पाएको अवसर बारमा लागेर फर्किएको थियो ।
दोश्रो हाफको सुरुवातमै सिलिगुडीका अविशेक लिम्बु रातो कार्ड खाँदै मैदान बाहिरिएको फाइदा उठाएर जलपाइगुडीले थप ५ गोल गर्न सफल बन्यो ।
दोश्रो हाफको २ मिनेट नवित्दै स्टेफेन समिर माथि फाउल गरेपछि उनले कार्ड पाएका थिए । लगतै करण राईले फ्रिकिकमा गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।
४५ औ मिनेटमा करणको प्रहारमा गोलरक्षकबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै गोल अन्तर ४-१ बनाए ।
४९ औ मिनेटमा प्रतिक लामाको क्रसलाई सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका जुनियरले गोल गरे ।
५६ औ मिनेटमा अनिश राईको पासलाई राम राईले जाली चुमाउँदै गोल अन्तर ५-२ मा झारे ।
६१ औ मिनेटमा स्टेफेनको क्रस पासमा गोलरक्षकलाई नघाउँदै जुनियरले व्यक्तिगत दोश्रो गोल गरे ।
इन्जुरी समयमा स्टेफेनले गोल गरेपछि ७-२ गोल अन्तरको साथ जलपाइगुडी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच जलपाइगुडीका करण राई घोषित भए । प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी र टेरिटोरियल आर्मी बीच हुँने आयोजकले जनाएको छ ।