शान्ति सुरक्षा कायम गर्न इलाममा एकिकृत चाडपर्व सुरक्षा योजना लागु


सेवारो खबर  117 पटक हेरिएको


इलामः  चाडपर्व नजिकिदै गएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा एकिकृत चाडपर्व सुरक्षा योजना लागु गरेकाे छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न एकिकृत चाडपर्व सुरक्षा योजना २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाएका छन् ।

सुरक्षा योजना अनुसार नेपाल प्रहरीका ५ सय २८ र सशस्त्र प्रहरीका २ सय ९७ जना सुरक्षाकर्मी परिचालन गरिने छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने छ । तत्काल परिचालन हुन सक्ने गरी ५० वटा क्वीक रेस्पोन्स टिम स्ट्याण्ड बाइ रहने, मोबाइल गस्ती ५ वटा, र पैदल गस्ती ४३ वटा रहने बताइएको छ ।

राजमार्गसँगै सीमा नाकाहरूमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट सञ्चालन गरिने छ ।

राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालित हुनेछ भने सुरक्षा संवेदनशील भएका १६ स्थानमा पिकेट खडा गरिने पोखरेलले बताए ।

राजमार्ग स्कर्टिङमा समेत सुरक्षाकर्मी परिचालन गरिने छ । पशुपतिनगरमा संयुक्त यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । बस पार्कहरूमा यात्रु सहायता कक्ष संचालन गरिने छ ।

सुरक्षा समितिको बैठकले जिल्लावासी सबै नागरिकलाई ढुक्क भएर चाडबाडमा सम्मिलित हुन, रमाउन, मनोरञ्जन गर्न तथा प्रेम र सद्भाव साटासाट गर्न कुनै अप्ठ्यारो नहुने पनि जनाएको छ ।

यसका साथै सिमित स्रोत साधनको वाबजुद चाडवाडलाई सुरक्षित, मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्ने कार्यमा स्वस्फूर्त सहयोग र सदभावको अपेक्षा छ ।

जिल्ला प्रशासन कार्यालयकाे सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार