‘उत्पीडितले गर्ने सद्भावको कुनै अर्थ छैन, आफै सकिनु हो’

‘याक्थुङ समुदायलाई दशैले सांस्कृतिक तथा धार्मिक उपनिवेशमा पारेको छ’


याम माबोहाङ लिम्बू  725 पटक हेरिएको

इलामः याक्थुङ लिम्बु समुदायलाई दशैले सांस्कृतिक तथा धार्मिक उपनिवेशमा पारेको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले किरात याक्थुङ चुम्लुङ नेपालले आयोजना गरेको ‘दशैं याक्थुङ/लिम्बु चाड होइन किन ?’ भन्ने भर्चुअल कार्यक्रममा बोल्दै दशैं आदिवासी जनजातिको पहिचानलाई मास्ने अस्त्र बनाएको बताए ।

कार्यक्रममा लेखक तथा इतिहासकार येहाङ लावतीले लिम्बुसँग दशैंको सम्बन्ध र लिम्बु समुदायमा दशैंको प्रवेश विषयमा कार्यपत्र प्रस्तुत गर्दै दशैंसँग लिम्बु समुदायको सम्बन्ध धार्मिक सांस्कृतिक परम्परागत रूपमा नरहेको बताए ।

उनले अहिले दशैंको विषयमा हिन्दु धर्मसँग सम्बन्धित देवी दुर्गासँग सम्बन्धित कथन, भगवान रामसँगको कथा, टिका लगाउँदाको आर्शिवाद लिम्बुको कुनै पनि मुन्धुमसँग सम्बन्धित नरहेको तर्क गरे ।

मुन्धुममा दशैंको नाम नै नपाइने भन्दै इतिहासकार लावतीले भने-‘नेपाली बृहद शब्दकोषको पेज नम्बर ११४८ मा लगाइएको दशैंको अर्थले दशैं याक्थङ्बासँग सम्बन्धि छैन । राज्य एकिकरणको नाममा गरिएको सांस्कृतिक उपनिवेश हो ।’

‘एकातिर राज्यको सेवा सुविधा लिने होडले याक्थङ्बा आफैले यसलाई ग्रहण गरेको पनि देखिन्छ लावतीले भने-याक्थङबाको यो कार्यले सामाजिक रूपमा कमजोर बनाएको छ । लिम्बुहरू बीच नै दशैं मान्ने र नमान्नेको विभाजन गरायो । मान्नेले राज्यको सेवा सुविधा पाएकोले यसैबाट प्रेरित भएकोले सामुदायिक पहिचान हराउँदै गएको छ ।’

इतिहासकार लावतीले राज्यले जबरजस्ती दशैं लादेकोले मान्न बाध्य भएको बताउँदै, भने -राज्यले अँगालेको धार्मिक आस्था, सांस्कृतिक पहिचानलाई दशैंको नाममा दिइएको लामो विदा, सेवा सुविधा, प्रचार प्रसार, साहुलियत दरको बजार, पसल, कर्मचारीलाई दशैं भत्ता, महसुल हरेक हिसाबले मानसिक रूपमा ग्रहण गर्न बाध्य बनाएको छ । लिम्बुले सांस्कृतिक पहिचानलाई बचाई राख्ने हो भने यो विषय बुझ्न आवश्यक छ ।’

किरात याक्थुङ चुम्लङका संघीय अध्यक्ष प्रेम येक्तेनले दशैं लिम्बुहरूको सामुदायिक पहिचानमा लागेको क्यान्सर हो यसको विकल्प खोज्न नहुँने बताए । उनले दशै हाम्रो होइन, अल्मलिनु हुँदैन भन्दै हाम्रो मौलिकताको प्रवर्दन गर्नुपर्नेमा जोड दिए ।

‘सद्भावको नाममा याक्थङबा हराइरहेका छौं, अध्यक्ष येक्तेनले भने-उत्पीडितले गर्ने सद्भावको कुनै अर्थ छैन । आफै सकिनु हो । सद्भाव देखाउँने हो भने पीडक जो हो उसले देखाउँनु पर्छ यसको अर्थ हुन्छ । हरेका याक्थङबाको परिवारमा यो चेतना आउँनु पर्छ । हामी आफै सचेत हुन जरूरी छ ।’

किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुमले गोरखा सैनिकमा दशैं विषयमा प्रस्तुति राख्दै गोरखा भर्तिमा लागेका आदिवासीमा दशैं एक जबरजस्त लादिएको संस्कारको रूपमा विकास भएको बताए ।

गोरखा भर्तिकै समयमा धार्मिक हिसाबले हिन्दु अनिवार्य बनाउँदै विकल्प नराखिएकोले भर्तिसँगसँगै हिन्दु पुरेत समेत व्यवस्था गरेकोले धुमधामका साथ दशै मनाउँने चलन रहेको खजुमले जानकारी गराए ।

‘आफ्नो रोजिरोटीको विषय भएकोले भर्ति भएका आदिवासी जनजातिले रहरले भन्दा पनि बाध्यताले दशैं मनाउँदै आएको छ खजुमले भने-अझै पनि यसको बैकल्पिक व्यवस्था हुन सकेको छैन ।’

कार्यक्रममा डाक्टर मारोहाङ, लेखक विश्वादिप तिगेला, चुम्लङका टंकमाया तिगेला, गायत्री थेगिम लगायतले सामुदायिक विकासका लागि अन्तर सांस्कृतिलाई बुझेर मात्र ग्रहण गर्नु सके सामुदायिक पहिचानलाई सदावहार बनाउँन सकिनेमा जोड दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार