इलामः मानव अधिकार मञ्च नेपाल इलामले सन्दकपुर गाउँपालिकाका छ विद्यालयका बालक्लबलाई खेदकुद सामग्री वितरण गरेको छ ।
बाल अधिकार संरक्षणको लागि ऐक्यबद्धता परियोजना मार्फत प्रत्येक बालक्लबलाई खेलकुद सामग्रीसँगै ६ हजार नगद समेत सहयोग गरेको छ ।
विद्यालयमा रहेको बालक्लबलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्याउँने उद्देश्यले नगद ६ हजार र खेलकुद सामग्री सहित १५ हजारको दरले छ बालक्लबलाई ९० हजार बराबरको सहयोग गरेको कार्यक्रम संयोजक रूद्र थेबेले जानकारी गराए ।
विद्यालयमा बालक्लबलाई खेलकुद सञ्चालन गर्न सहज बनाउँन फूटबल, भलिबल, चेस, लुडो, स्कीपिङ, भिते पत्रिकाका लागि सामग्री वितरण गरेको जनाइएको छ ।
परियोजनाले गाउँपालिकाको आदरणीय माध्यमिक विद्यालय, संस्कृत मावि, सरस्वति मावि, श्याम्वल मावि, भगवती मावि भानुदय आधारभूत विद्यालय र प्रबोध मावि सहयोग गरेको कार्यक्रम संयोजक थेबेले जानकारी गराए ।
सहयोग वितरणका अवसरमा बालक्लव संरक्षक शिक्षक तथा प्रधान संरक्षक शिक्षकसँग बालबालिकाको विभिन्न विषयमा छलफल र बालक्लबको अतिरिक्त क्रियाकलाप सञ्चालका विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा सन्दकपुर गाउँपालिकाको बालकल्याण अधिकारी सरितादेवि खतिवडा मानव अधिकार मञ्चका योजना अनुगमन अधिकृत योगराज सापकोटा, मनकुमार बराईली, र बालअधिकार अधिकृत गायत्री थेगिमको सहभागिता रहेको जनाइएको छ ।