‘माईपोखरीसँगै सन्दकपुरको विकासमा एकजुट हुनपर्छ’


सेवारो खबर  35 पटक हेरिएको

माईपोखरीः सन्दकपुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने माईपोखरी त्रि- धार्मिक ऐतिहासिक महोउत्सवको दोश्रो दिनको सहभागीले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले महोत्सवले समाजलाई एक सुत्रमा बाँध्ने कार्य भएको बताउँदै माईपोखरीको पर्यटन विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले इलाम नगर प्रमुख हुँदा माईपोखरीको विकासको लागि डिपिआरको कार्य भएकाले सो अनुसार विकासका लागि बजेट विनियोजनमा आफुले सहयोग गर्ने बताए ।


सन्दकपुर गाउँपालिकाका पूर्व अध्यक्ष उदयबहादुर राईले इलामको पर्यटन विकासमा सन्दकपुर र माईपोखरीको योगदान अतुलनिय रहेको बताउँदै भाषणले मात्र सन्दकपुरको विकास नहुने भएकाले काम गर्नका लागि सबै एकजुट हुनुको विकल्प नरहेकामा जोड दिए ।

उनले केचना कञ्चनजंघालाई जोडेर इलामको विकासको ढोका खोल्नुपर्नेमा जोड दिँदै गाउँपालिका अध्यक्ष रहँदा माईपोखरीलाई धार्मिक पर्यटनको रुपमा विकासका लागि डिपिआरको कार्य इलाम नगरपालिकासंग सहकार्यमा भएको उल्लेख गर्दै उनले सो अनुसार काम बढाउनु पर्नेमा जोड दिए ।

नेकपा एमालेका सचिव उमेश गुरुङले माईपोखरीको विकासका लागि धार्मिक, राजनीतिक क्षेत्राबाट समेत कार्य भएको बताए । उनले महोत्सवले देश विदेशमा माईपोखरीको चर्चा परिचर्चामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले आफु व्यवसायिक पत्रकारिता रहँदा माईपोखरीको विकासका लागि योगदान गरेको स्मरण गर्दै राजनैतिक क्षेत्रबाट विकासका थप कार्यका लागि सदैव पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महोत्सवको दोश्रो दिन पण्डित कृष्ण प्रसाद घिमिरे, पण्डित विष्णु प्रसाद भट्टराई, पण्डित कृष्ण प्रसाद भट्टराई, लामा साङ्गे शेर्पा र लामा फुरी शेर्पाले प्रवचन दिएका थिए ।

माइपोखरीमामा मंसिर १ गतेदेखि त्रिधार्मिक महोत्सव भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार