इलाम बजारमा खेलाइएको हाउसी बिंगो खेलको आर्थिक अनियमिताको चाङ !


सेवारो खबर  247 पटक हेरिएको

इलामः इलाम बजारमा दसैं-तिहार अवसरमा खेलाइएको हाउसी बिंगोमा ठूलो आर्थिक अनियमिताको आशंका स्थानीयले गरेका छन् । परम्परा र संस्कृतिका नाममा गएको असोज २८ देखि मंसिर ८ सम्म हाउसी बिंगो खेलाइएको खेलको सार्वजनिक भएको खर्च बिवरणमा खाशंका गरेका हुन ।

आयोजकले मंसिर १२ गते सार्वजनिक गरेको आय-व्यय विवरण अनुसार ४१ दिन खेलाइएको बिंगोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको छ ।

आय -व्ययको विवरण अनुसार पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको छ । बाँकी २० लाख ५० हजार एक सय ५५ रुपैयाँमध्ये पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेलका लागि खर्च भई १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बचत भएको विवरणमा देखाइएको छ ।

यो हिसाब-किताब आयोजकले देखाउनका लागि मात्र सार्वजनिक गरेको भन्दै स्थानीय असन्तुष्ट छन् । एकभन्दा बढी संघ-संस्थाले हाउसी खेलाउँदा त्यसको लेखा परीक्षणसमेत नहुने भएकाले सार्वजनिक विवरण आयोजकले ‘मनोमानी हिसाब’ ले ल्याएको स्थानीयको आरोप छ ।

हाउसीको आय ‘कम’ देखाउन प्रत्येक दिन कति टिकट विक्री भयो भन्ने विवरण आयोजकले पत्रकार सम्मेलनमा सार्वजनिक गर्न सकेन। विवरणमा प्रत्येक दिनको आम्दानी र खर्च विवरण देखाइए पनि विक्री भएको टिकटको संख्या कति थियो, त्यो टिकट कस-कसको जिम्मामा थियो भन्ने खुलाइएको छैन ।

प्रत्येक वर्ष इलाम नगरपालिकाको स्वीकृति लिएर कुनै न कुनै संस्थाले हाउसी खेलाउने गरिएको छ। यस पटक इलाम नगरपालिका, नगर खेलकुद प्रतिष्ठान, जिल्ला फुटबल संघ, रेडहर्स फुटबल क्लब, माइभ्याली फुटबल क्लब, इलाम नगर साहित्य प्रतिष्ठान, तेक्वान्दो संघ, इलामका सहयोगी हातहरू र ब्याडमिन्टन संघले संयुक्त रूपमा हाउसी खेलाउने अनुमति पाएका थिए। अनुमतिका लागि स्पष्ट मापदण्ड के हो भन्ने चाहिँ कतै उल्लेख छैन ।

इलाममा हाउसी खेलाउन भारतको सिलिगुडी वा दार्जिलिङबाट टिकट ल्याइन्छ । तम्बोला र एंकर कम्पनीका टिकट हाउसीमा प्रयोग गरिन्छन् । आयोजकले यो पटक एक सय २० सेरिज (सेट) टिकट ल्याएको विवरण देखाइएको छ तर कति टिकट बेचियो भन्ने कहीँ कतै विवरण छैन ।

एक सेरिजमा छ सय टिकट हुन्छन् । एक सेरिजलाई सय-सय टिकटका छ सेट बनाइएको हुन्छ। र, एउटा टिकटमा ९० कोठा हुन्छन् । छ सय टिकटमध्ये कुनैसँग कुनै नम्बर नमिलेपछि एक सेरिजमात्र विक्री हुँदा सामान्यतया एक जनालाई मात्र हाउस फुल पर्छ। तर, खेलका कुल ४१ दिनमध्ये ४० दिन (प्रत्येक दिन दुई वा दुईभन्दा बढी व्यक्तिले हाउस फुल पारेपछि प्रत्येक दिन कम्तीमा एक हजार दुई सय टिकट विक्री भएको देखिन्छ। फाइनलको दिनबाहेक प्रत्येक टिकट प्रतिगोटा सय रुपैयाँमा विक्री गरिएको छ । यसो गर्दा प्रत्येक दिन कम्तीमा एक लाख २० हजार रुपैयाँको टिकट विक्री भएको देखिन आउँछ ।

आयोजकहरूले सार्वजनिक गरेको विवरणमा चाहिँ पहिलो दिन सबैभन्दा कम आठ हजार तीन सय ३० रुपैयाँ बचत र १८ हजार पाँच सय रुपैयाँ पुरस्कारमा खर्च भएको उल्लेख छ ।

फाइनलबाहेकका ४० दिनमध्ये मंसिर ७ गते सबैभन्दा बढी ९९ हजार एक सय ९० रुपैयाँ बचत र एक लाख १६ हजार तीन सय रुपैयाँ पुरस्कारमा खर्च भएको देखाइएको छ ।

टिकट विक्रीबाट आएको कुल रकमको प्रायः ६० प्रतिशत पुरस्कारमा खर्च गरिन्छ र ४० प्रतिशत बचत राखिन्छ । कहिलेकाहीं आयोजकले तत्काल निणर्य गरी यो अनुपात तलमाथि गर्न सक्छन्। तर, प्रत्येक दिन कति संख्याको टिकट विक्री भयो भन्ने विवरण नहुँदा आम्दानी यति नै हो भन्ने आधार कमजोर रहेको आयोजक संस्थामध्येकै एक सदस्य बताउँछन् ।
पोहोर सालको खेलबाट उब्रिएका टिकट यो पटक प्रयोग गरियो वा गरिएन भन्ने पनि खुलाइएको छैन। र, यो साल एक सय २० सेरिज नै टिकट ल्याइएको हो भन्ने ठोस आधार पनि नभएको उनी बताउँछन् ।

एक आयोजकका अनुसार टिकट किनेर ल्याएपछि इलाम नगरपालिकामा दर्ता र चलानी गरेर मात्र खेलमा लैजाने निणर्य आयोजकबिच भएको थियो। तर, न टिकट नगरमा दर्ता गरियो, न चलानी । कसको साथमा कति टिकट थियो भन्ने जानकारी कसैसँग छैन ।

‘मेयर र प्रमुख प्रशासकीय अधिकृत नै सहभागी बैठकमा भएको निणर्यसमेत आयोजकले मानेनन्,’ उनले भने, ‘सबै गोलमाल बनाए । आयोजककै सबैलाई सबै कुरा थाहा नहुने रहेछ।’

उठेको रकम समयमा बैंक जम्मा भएन
मंसिर १२ को पत्रकार सम्मेलनमा आयोजकले हाउसी खेलमा प्रत्येक दिन उठेको रकम प्रत्येक दिन बैंकमा जम्मा गरेको दाबी गरेको थियो । तर, त्यो दाबी अन्ततः गलत साबित भएको छ ।

 

हाउसी बिंगो खेलको दुई दिनअघि असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का समेत सहभागी भए ।

बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैंकमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निणर्य गरेको थियो। तर, न प्रत्येक दिन विक्री भएको टिकट संख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैंक जम्मा भयो ।

खाता सञ्चालकमध्ये नगरका कर्मचारी कमल मैनाली बैठकको निणर्य कार्यान्वयन नभएको गुनासो गर्छन्। ‘प्रत्येक दिनको टिकट र रकमको हिसाब प्रत्येक दिन नगरमा बुझाउने सहमति भएको थियो,’ उनले भने, ‘तर, म त खाता सञ्चालक मात्रै भएँ, न मलाई कुनै हिसाब थाहा भयो न हिसाब-किताबबारे कुनै जानकारी नै दिइयो ।’ नगरले पटक-पटक आग्रह गर्दा पनि नगरमा हिसाब-किताब नबुझाएको उनले बताए ।

लाखौं रुपैयाँको चिठ्ठा कारोबार भएको हाउसीको आय-व्यय विवरण आयोजकले देखाएकैमा विश्वास गर्नुपर्ने अवस्था छ ।
सिंगो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन । आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउसीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर खर्च चाहिँ त्यहाँ पनि देखिँदैन। त्यसैले ठूलो आर्थिक कारोबार लेखा परीक्षण बिनै गुज्रिरहेको छ ।

फाइनलको हिसाब-किताब गोलमाल
हाउसीको फाइनल खेल मंसिर ८ मा भयो । यो दिन १९ जनालाई हाउस फुल परेको छ। एक सेरिज (छ सय) टिकटमा एक जनालाई मात्र हाउस फुल पर्दा त्यस दिन मात्र पनि १९ सेरिज टिकट विक्री भएको अनुमान गर्न सकिन्छ । तर, एकै सेरिजमा फाट्टफुट्ट दुई जनालाई हाउस फुल पर्दा पनि कम्तीमा १० सेरिज टिकट विक्री भएको हुन्छ। फाइनलको दिन प्रतिगोटा पाँच सय रुपैयाँले १० सेरिज टिकट विक्री गर्दा ३० लाख रुपैयाँको टिकट विक्री हुन आउँछ ।

तर, आयोजकले फाइनलको दिन टिकटबाट १९ लाख ६५ हजार तीन सय रुपैयाँ जम्मा भएकामा पुरस्कारमा १५ लाख ६९ हजार तीन सय रुपैयाँ खर्च भएको देखाएको छ। यो हिसाब-किताबलाई स्थानीयले विश्वास गरेका छैनन् ।

 

‘कतिपयलाई निःशुल्क टिकट बाँडिएको छ,’ एक सदस्य भन्छन्, ‘आयोजक समितिका अध्यक्ष वा प्रतिनिधिहरूले फाइनलको टिकट भागबन्डा नै गरी निःशुल्क लगेका थिए, अनि हिसाब कसरी क्लियर हुन्छ त !’

फाइनलको दिन अढाई लाख रुपैयाँमा किनेको भनिएको मोटरसाइकल बम्पर उपहारका रूपमा राखिएको थियो। यसका लागि छुट्टै तीन हजार पाँच सय रुपैयाँ गोटाका ९० टिकट विक्री भएको स्रोत बताउँछ । यसबाट तीन लाख १५ हजार रुपैयाँ आम्दानी हुन्छ । आम्दानीमा मोटरसाइकलको अढाई लाख रुपैयाँ घटाउँदा ६५ हजार रुपैयाँ नाफा हुन्छ। यसको हिसाब आयोजकले देखाएको छैन ।

यद्यपि, आयोजकबिच फाइनलको दिन मोटरसाइकल पुरस्कार राख्ने निणर्य पनि कुनैपनि बैठकमा भएको थिएन। निणर्य नै नभई यो उपहार राखिएकामा धेरैजसो आयोजक नै अन्योल थिए ।

फाइनलकै दिन नगद बम्परसमेतको पुरस्कार राखियो। यसमा हजार रुपैयाँ गोटाका टिकट काटिएका थिए। हजार रुपैयाँ गोटाका दुई सय ७० टिकट विक्री भएको स्रोतले जनाउँदा त्यसबाट दुई लाख ७० हजार रुपैयाँ आम्दानी भएको देखिन्छ ।
नगद उपहारमा तीन जनालाई ३५ हजार रुपैयाँका दरले पुरस्कार दिँदा एक लाख पाँच हजार रुपैयाँ खर्च हुन्छ। यसमा पुरस्कारमा भएको खर्च घटाउँदा भएको एक लाख ६५ हजार रुपैयाँको आम्दानी पनि आयोजकले सार्वजनिक गरेको छैन ।
नगर खेलकुद प्रतिष्ठान अध्यक्ष महेश श्रेष्ठ आफूलाई खेलको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँछन् ।@nagariknewsबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार