इलामः आज (आइतबार) मंसिर २४ अर्थात डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस । “Dignity, Freedom, and Justice for All” “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने नाराका साथ स्थापनाको ७५ औं वार्षिक उत्सव मनाइदै छ ।
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाउन गरिन्छ ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांक अनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।
यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ ।
सन् २०२३ को नारा
प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२३ मा “ “Dignity, Freedom, and Justice for All” “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने आशयको रहेको छ ।
मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।