इलामः इलाम नगरपालिकाले तीन दिने चित्रकला सिकाउँदै, ललितकला उत्सव मनाउँदै छ । नगरपालिकाले आउँदो पुस १४, १५ र १६ गते इलामको कला, संस्कृति र कृषिलाई प्रवर्धन गर्ने उद्देश्यले लाइभ पेन्टिङ गर्दै उत्सव मनाउँन लागेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
नगरपालिकासँगै इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन प्रवर्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, होटल एसोसियेसन, प्याब्सन र देही आर्टको संयुक्त आयोजनामा सञ्चालन हुने उत्सवमा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क चित्रकला सिकाइने उपप्रमुख विष्णु लिम्बू दाहालले जानकारी गराइन् ।
इलाम नगरपालिकाको चियाबारी, माइस्थान, चोक बजार, र अरनिको संग्रहालय दरबार क्षेत्र लगायतको चार स्थानमा लाइभ पेन्टिङ प्रदर्शन हुने उत्सवमा नेपाल तथा भारतका ३३ कलाकारको सहभागिता रहनेछ । यसका साथै इलामका कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ ।
दही आर्टले सदृष्यम नाम दिएको उत्सवमा इलाम नगरको पर्यटकीय क्षेत्र तथा सांस्कृतिक पहिचान भन्ने मुख्य थिममा आधारित लाइभ पेन्टिङ गरिने इलाम नगरपालिकाका ४ नम्बर वडाका अध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलालले बताए ।
दुई दिनसम्म निजी तथा सामुदायिक विद्यालयका कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई पानी रङ्को चित्रकला सिकाई अन्तिम दिन पुस १६ गते प्रशिक्षार्थीको चित्रकला प्रतियोगिता हुनेछ । प्रतियोगिता सहभागिको नतिजा बमोजिम पुरस्कार बितरण गर्दै कार्यक्रम सम्पन्न हुने इलाम उद्योग वाणिज्य संघका चतनाथ पौडेलले जानकारी गराए ।
उत्सव सञ्चालन गर्न पाँच लाख बढी खर्च हुने कार्यक्रमले इलामको विभिन्न पर्यटकीय स्थानको बारेमा चित्रमा प्रदर्शन गरिने छ ।