‘प्रथम एनआरएनए इलाम गोल्डकप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

उद्घाटनका दिन गायक यम बराल र भ्वाइस अफ नेपाल विजेता विनोद राईले सा‌गितिक प्रस्तुति रहने


सेवारो खबर  186 पटक हेरिएको

इलाम: आउँदो माघ ६ अर्थात शनिबारदेखि हुँने ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजक रेडहर्स फुटबल क्लबले आज (बिहीबार) पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो ।

इलाम बजारको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको प्रायजसो तयारी पूरा भएसँगै केही तयारी मात्रै बाँकी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता माघ १३ गते सम्पन्न हुने प्रतियोगितामा नेपालका सात र बाहिरको एक गरी आठ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजक रेडहर्स फुटबल क्लबका अनुसार आयोजक रेडहर्स, काठमाडौंको एनआरटी, सर्लाहीको बागमती, इटहरीको राष्ट्रिय जागृति, झापाको बिर्तामोड युनाइटेड, बुटवलको लुम्बिनी, पाँचथर र भारत दार्जिलिङको एमएफसीबीच प्रतिस्पर्धा हुने टुंगो भएको छ ।

प्रतियोगिताको सबैजसो तयारी सकिएको एन्फा पूर्वकेन्द्रीय सदस्यसमेत रहेका आयोजक समिति सदस्य निरोज खड्गीले जनाकारी गराए । उनका अनुसार खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माण, मैदानको तल्लो भागमा पर्खाल लगाएर सम्याउने, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको हो ।

प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको समेत पुरस्कार व्यवस्था गरिएको जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । आयोजक क्लबका सचिव प्रकाश घिमिरेले अहिलेसम्म मैदान, प्यारापिट र अन्य तयारीमा २५ लाख रुपैयाँ हाराहारी खर्च भइसकेको बताए । ‘प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गर्ने भएको छ । उनका अनुसार इलाम नगरपालिका, अन्य संघ-संस्था र व्यक्तिले पनि प्रतियोगितालाई सहयोग गरिरहनुभएको छ ।

आयोजकका अनुसार गेट मनी (दर्शकबाट मैदान गेटमा उठ्ने रकम) सबैभन्दा बढी हुने आशा छ ।

खेल अवलोकन गर्न अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । खेलको उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक एम बराल समेतको सांगीतिक प्रस्तुति रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार