सडनडेथमा रेडहर्ष बाहिरिदा, न्यूरोड टिम काठमाण्डौं फाइनलमा


सेवारो खबर  242 पटक हेरिएको

इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार भएको खेलमा न्यूरोड टिम काठमाण्डौं विजयी भएको छ ।

इलामको ठूलो टुँडिखेलमा भइरहेको खेलमा काठमाण्डौंले आयोजक रेडहर्ष फूटबल क्लबलाई सडनडेथमा पछि पार्दै फाइनलमा प्रवेश गरेको छ ।

खेलको पुरा ९० मिनट समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्षको इलाम गोल्डकप यात्रा टुङ्गिएको छ ।

रेडहर्षलेको तर्फबाट कप्तान नवयुग श्रेष्ठले खेलको ४२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो । खेलको ८८ औं मिनट न्यूरोडका तर्फबाट विदेशी खेलाडि जोन ग्लोरीले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गिएको थियो ।

निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेललाई निणर्यमा पुर्‍याउँन ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि खेलको छिनोफानो नहुँदा सडन डेथबाट गरिएको थियो ।

टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भएको थियो । सडन डेथमा भने आयोजकका एकराज बुढाथोकीको प्रहार आकासिँदा एनआरटीका राजीव लोप्चनको प्रहार गोलमा परिणत भएको थियो । सोही गोलले एनआरटीले फाइनल यात्रा तय गर्यो ।

टाइब्रेकरमा आयोजकका तर्फबाट बिशाल घलान, पिकेश लोक्ताम, शरण विक्राम सिंह बस्नेतले प्रहार गरेको बलले मात्र जाली चुम्यो । कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहार एनआरटीका गोलरक्षक येभ्स प्रिसोले रोकेका थिए ।

एनआरटीका येभ्स प्रिसो, जय गुरुङ, सुमित श्रेष्ठको प्रहारमात्र गोल गोलमा परिणत भयो । सनम लिम्बूको प्रहार क्रस बारमा लाग्दै भित्रिएको थियो भने ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोके ।

पहिलोपल्ट इलामको प्रतियोगितामा सहभागिता जनाएको एनआरटीका गोलरक्षक प्रिसो म्यान अफ दी म्याचा बने । उनलाई एनएसएल टोली स्पोर्टिङ इलामका प्रमुख सुहाङ नेम्बाङले नगद ५ हजार प्रदान गरे ।

गोल्डकपमा भोलि (बिहीबार) झापाको बिर्तामोड युनाइटेडले पाँचथर एफसीसँग अन्तिम सेमिफाइनल खेल हुने जनाइएको छ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी, उपविजेताले भने तीन लाख पुरस्कार पाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार