इलाम: प्रथम एनआरएनए इलाम गोल्डकपको बिहिबार भएको झापाको बिर्तामोड युनाइटेड एफसी फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार पाँचथर एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोड युनाइटेड फाइनलमा प्रवेशसँगै कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको थियो ।
बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक रोशन नेपालले रोके भने एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीले गोल गरे ।
पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो भने साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोल भएको थियो ।
माघ १३ गते शनिबर बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी)सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।