विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ ।
उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन् ।
तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन् ।
त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग्रुपको स्वामित्वमा उक्त क्रुज रहेको छ ।
उत्सर्जनलाई लिएर चिन्ता
आफ्नो पहिलो यात्राका क्रममा यो क्रुज सात दिने भ्रमणमा हुनेछ ।
तर कतिपय वातावरण अधिकारकर्मीहरूले तरल प्राकृतिक ग्यास अर्थात् एलएनजीको प्रयोग गरिने यो पानीजहाजले घातक मिथेन उत्सर्जन गर्ने चेतावनी दिएका छन् ।
“यो गलत दिशातर्फको कदम हो,” इन्टरन्याश्नल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेशनका मरिन प्रोग्राम निर्देशक ब्रायन कोमरलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले भनेको छ ।
“हामी अनुमान के अनुमान गर्छौँ भने मरिन इन्धनको सट्टा एलएनजी प्रयोग गर्दा त्यसले मरिन ग्यास-तेलको तुलनामा धेरै हरित गृह ग्यास उत्सर्जन गर्छ,” उनले भने ।
यसै हप्ता आइसीसीले निकालेको एउटा प्रतिवेदनमा एलएनजी प्रयोग गरिएका पानीजहाजबाट हुने मिथेन उत्सर्जन अहिलेको नियमनले अनुमान गरेको भन्दा धेरै रहेको ठहर गरेको थियो ।
एलएनजी अरु परम्परागत मरिन इन्धन भन्दा सफा बल्ने भएता पनि त्यो चुहावट हुने जोखिम रहने गर्छ ।
मिथेन एउटा शक्तिशाली हरित गृह ग्यास हो र यसले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडको तुनामा ८० गुणा बढी ताप वायुमण्डलबाट सोस्छ ।
यी उत्सर्जनहरूलाई कटौती गर्नु तापमान वृद्धिलाई नियन्त्रण गर्ने तर्फको महत्त्वपूर्ण कदम हो ।
एकजना रोयल क्यारिबिअन प्रवक्ताले आधुनिक पानीजहाजहरूलाई इन्टरन्याश्नल म्यारिटाइम अर्गनाइजेशनले तोकेको भन्दा आइकन अफ द सीजले २४ प्रतिशत इन्धन कम खपत गर्ने बताएका छन् ।
उक्त कम्पनीले सन् २०३५ सम्म कुल उत्सर्जन शून्य गर्ने पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
हाल इन्टर मायामीबाट खेल्ने गरेका अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी बुधवार उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए ।
उनले विशेष ढङ्गले निर्माण गरिएको एउटा स्ट्यान्डमा फुटबल राखेर ‘शुभ कामना’ दिएको देखिएको थियो ।
आइकन अफ सीज बनाउन २ अर्ब डलर लागेको थियो । त्यसमा ७ वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड्स र ४० भन्दा बढी रेस्टुराँ, बार र लाउन्जहरू रहेको बताइएको छ । @bbc.comबाट ।