देउमाईः प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने भएको छ ।
देउमाई स्पोटिङ क्लबको आयोजनामा हुुने खेलमा ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ ।
भानुभक्त माध्यमिक विद्यालयकोे छात्रावास खेल मैदान हुुने खेलमा विजेता टिमले नगद दुुई लाख, उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने प्रचार समिति संयोजक मौसम खनालले जानकारी गराए ।
प्रतियोगिताको प्रत्येक दिन एक जना म्यान अफ द म्याचले आर्कषक नगद पुरस्कार प्राप्त गर्नेछ । खेल अवधिभरमा सबै भन्दा बढी गोल गर्ने, उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षक छनौट गरी आर्कषक पुरस्कार सहित ट्रफि म्याडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
निशुल्क सहभागी हुन पाइने खेलमा देउमाई, माई, इलाम र सूर्योदय नगरपालिकाको सहभागिता रहेको छ । यस्तै माङ्सेबुङ, फाकफोकथुम, सन्दकपुर, माइजोगमाई, रोङ र चुलाचली गाउँपालिकाले प्रतिस्पर्धामा भाग लिएका छन् ।
१६ लाख लागत अनुमान गरिएको प्रतियोगिताको तयारी तिब्र रूपमा भइरहेको छ । खेल अवधिभर निशुल्क हेर्न पाइने खेलमैदानको तयारी सकिएको बताइएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्न सम्भवत पहिलो अन्तर पालिका स्तरीय प्रतियोगिता भएको आयोजकको भनाई छ ।
देउमाई नगरपालिकामा खेल मैदान भएपनि पछिल्लो वर्षमा खेलकुदका कार्यक्रम हुन सकिरहेको थिएन । प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा छ ।
‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने नाराका प्रतियोगिता गर्न लागिएको उद्घाटन खेलमा आयोजक देउमाई नगरपालिका र माई नगरपालिका बीत प्रतिस्पर्धा हुनेछ ।