प्रथम ओएशिस महिला गोल्ड कपको उद्घाटन खेलमा मानेभन्ज्याङ र दीपेन्द्र शिखर विजयी


सरिता राई  973 पटक हेरिएको

इलाम: प्रथम ओएसिस महिला गोल्ड कपको बिहिबार भएको उद्घघाटन खेलमा भारत दार्जीलिङको मानेभन्ज्याङ फूटबल क्लब सेमी फइनलमा प्रवेश गरेको छ ।

आयोजक क्लब ओएसिसलाई एक गोलका विरुद्ध तीन गोल गर्दै मानेभन्ज्याङले अघिल्लो चरणमा प्रवेश गरेको हो ।

उद्घाटन खेलमा मानेभन्ज्याङका खेलाडि सुस्मिता लेप्चाले चौथो मिनेटमा पहिलो गोल गरिन् । खेलको ९ मिनेटमा आयोजक क्लब ओएसिसका जेनिफर राना मगर गोल गर्दै बराबरी बनाइन ।

मानेभन्ज्याङले २९ र ५४ मिनेटमा सोनिया मार्कले थप दुई गोल गरिन । मार्कले गरेकी गोलनै दोस्रो चरणको यात्राको निर्णायक भयो ।

आयोजक क्लब ओएशिस भने रानाको एक गोलमा चित्त बुझाउँदै पहिलो चरणबाट नै बाहिरियो ।

खेलको म्यान अफ दि म्याच मानेभन्ज्याङका खेलाडि सोनिया मार्क घोषित भइन् । उनले नगद दुई हजार समेत हात पारिन् ।

बिहिबार नै भएको अर्को खेलमा दीपेन्द्र शिखर फुटबल क्लब विजय भयो । पीवाइसी पाँचथरलाई ट्राई ब्रेकरमा पछि पार्दै दीपेन्द्र शिखर क्वाटर फाइनलको यात्रा तय गरेको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट नतिजा लिइएको थियो । जसमा चार गोलका विरुद्ध पाँच गोल गर्दै दीपेन्द्रले अघिल्लो चरणमा प्रवेश गरेको हो ।

जीतमा दीपेन्द्रका खेलाडि भावना राई, हिमा राउत, तुलसा बोहोरा, अनिशा राई र गोलरक्षक लीला जोशीले गरेको प्रहार गोलमा परिणत भयो ।

पाँचथरका तर्फबाट माया मास्के, सुत्रिया मिया, झुमा पोर्तेल र वर्षा ओलीको प्रहार गोल गरे भने अन्जना पुन मगरको प्रहारले लक्ष्य चुमेन । अन्त्तत पाँचथरले प्रतियोगिताबाट आफ्नो यात्रा टुङ्याएको छ ।

खेलको म्यान अफ दि म्याच गोलरक्ष लीला जोशी घोषित भइन् । उनले नगद दुई हजार समेत प्राप्त गरिन् ।

शुक्रवार नवबुद्ध फुटबल क्लब यूथ फुटबल क्लब सप्तरी र युनाइटेड फुटबल क्लब देउमाई इलाम बीच पहिलो खेल सञ्चालन हुने खेल आयोजक समितिका खेल संयोजक ध्रुव राईले जानकारी दिए । उनका अनुसार दोस्रो खेल पटना सिटी भारत र युनाइटेड बिर्तामोड बीच हुनेछ ।

खेलको प्रथम हुने टिमलाई नगद दुई लाख र उपविजेता टिमलाई एक लाख नगद, ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष रोशन राईले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार