सन्दकपुर: चेतना नाट्य समूह इलामले सन्दकपुर गाउँपालिकाको विद्यालयमा बाल विवाह अन्त्य गर्न सडक नाटक प्रस्तुत गरेको छ । प्रदेश सरकारको सन २०२५ मा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई साथ दिन नाटक प्रस्तुत गरिएको चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए ।
गाँउपालिकाको समन्वयमा बालविवाह अन्त्यका गर्न सडक नाटक लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मन्चको आयोजनामा चेतना नाट्य समुहले सडक नाटक देखाइएको हो ।
नाटक गाँउपालिकाको सरस्वती माध्यमिक विद्यालय, माईपोखरी संस्कृत मावी, इष्ट इस्काई विद्यालय र माईपोखरी एकेडेमीमा देखाइएको जनाइएको छ ।
नाटकले वालवालिकाहरुलाई सचेत गराएको महसुस भएको सरस्वती माविका प्रधानाध्यापक रेखराज पोख्रेलले बताए । वडा नम्बर ३ का वडाध्य्क्ष लिलबहादुर बुर्जाले अहिले आफ्नो वडा वालमैत्री अभियानमा लागिरहेको बेला यो नाटकले थप सहयोग पुग्ने आशा गरे ।
नाटकले विद्यार्थिहरुमा बाल विवाहको बिरुद्दमा गहिरो छाप छोडेको उपाध्यक्ष हरिबहादुर लुन्ङेली मगरले बताए उनले नाटकको माध्यमबाट सजिलैसँग बाल विवाहले पुर्याउने असर, निम्त्याउन सक्ने खतराको बारेमा जानकारी भएको र बाल विवाह गर्नु हुदैन भन्ने सन्देश बालबालिकाले बुझेको महशुस सुनाए ।
सडक नाटकको निर्देशन चेतना नाट्यसमुहका कलाकार सुरेश पोर्तेलले गरेका हुन । नाटकमा सरिता राई, सुशान्त चापागाईं, प्रतिमा रिजाल, बिमला राई र निशान देवानलगायतले अभिनय गरेका थिए । मानव अधिकार मन्चका रुद्र थेवे र जीवन कुमाल व्यवस्थापनमा सहयोग गरेका थिए ।