इलाम: अविरल वर्षासँगै आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जेठ २८ देखि साउन ७ गते दिउँसो सम्मको भएको जनाइएको छ ।
विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको नेपाल प्रहरीको वेवसाइटमा उल्लेख छ ।
घटनामा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।
बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
५ सय ९४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४ घर परिवार विस्थापित भएका छन् ।
स्थानीय सरकार र स्थानीयवासीको समन्वय र सहयोगमा बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम भइरहेको छ । साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको उल्लेख छ ।