दुर्घटनाको जाँचबुझ आयोग गठन, शोकमा भोली बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने


सेवारो खबर  210 पटक हेरिएको

काठमाडौँ: सरकारले आज भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे विस्तृत छानविन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका  कर्मचारी सञ्जय अधिकारी छन् । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलका अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

जाचँवुझ आयोगले घटनाको विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाइनु पर्ने सुझाव सहितको प्रतिवेदन ४५ दिनभित्र सरकारलाई बुझाउनु जनाइएको छ ।

यस्तै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनामा परि निधन हुनुभएकाहरु प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइते भई उपचाररत पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले विमान कम्पनीहरूले अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले बताए ।

सरकारले यस शोकको घडीमा भोली साउन १० गते बिहीबार शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

दुर्घटनाग्रस्त विमान उडानका लागि कति सुरक्षित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधवार दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको विमानको पूर्ण प्राविधिक परीक्षणका लागि ५० घण्टाको उडान अवधि अझै बाँकी रहेको बताए ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उक्त दुर्घटना र त्यसले हवाई सुरक्षाकाबारेमा उठाएका प्रश्नहरूबारे छलफल भएपछि मन्त्री पाण्डेको यस्तो भनाइ आएको हो ।

अठार जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको विस्तृत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

मन्त्री पाण्डेले उक्त आयोगले हवाई सुरक्षाबारे विस्तृतमा सुझाव दिने भन्दै सरकारलाई पछिल्लो दुर्घटनाले हवाइ सुरक्षालाई लिएर थप कदम चाल्न सरकारमाथि दबाब परेको बताएका छन् ।@onlineradionepal & bbc.comबाट ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार