इलामः सन्दकपुर गाउँपालिका आउँदो आर्थिक वर्षमा बालमैत्री गाउँपालिका बन्ने भएको छ । गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम भईरहेको जनाएको छ ।
गाउँपालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा बनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ४ लाई बालमैत्री वडा बनाउँने छ । आउँदो आर्थिक वर्षमा वडा नम्बर १ र ५ सँगै बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव राउतले जानकारी गराए ।
’पालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा भएको प्रमाण पत्र दिई सकेको छ, वडा अध्यक्ष लीलबहादुर बुर्जाले भने – औपचारिक घोषणा सभा यस वर्षको बाल दिवसको दिन गर्ने योजना छ ।’
मानव अधिकार मञ्चको प्राविधिक सहयोगमा बालमैत्री अभियानलाई जिल्ला समन्वय समिति इलामले समेत घोषणा गर्न सहमती पत्र दिएपछि गाउँपालिकाले वडालाई प्रमाण पत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राउतका अनुसार सेवाग्राहीको नेतृत्व तथा क्षमता विकासको कामले बालमैत्री पालिका बनाउँने अभियानमा सहयोग पुर्याएको छ ।
उनले भने ’बालमैत्री बनाउँन ठूलो लागत लाग्दैन । सामान्य नीतिगत व्यवस्थालाई कार्यान्वयन र आवश्यक पूर्वाधारको परिमार्जनले सहज बनाउँछ । बालमैत्री बनाउँदा समग्र विकासको काममा सफ्टवेर र हार्डवेरको काम समेत हुँदोरहेछ ।’
बालमैत्रीका लागि तोकिएको सूचक तथा मापदण्ड पुरा भएकोले वडा नम्बर ३ बालमैत्री वडा भएको हो । बालमैत्री बनाउँन बाल बचाउँका तोकिएको १४ सूचक वडा तथा पालिकाले सुनिश्चत गरेको हुनुपर्दछ ।
बाल संरक्षणका विषयमा तोकिएको ९ सूचक, बालबिकासको ८ र बाल सहभागिता तोकिएको ६ सूचक पुरा हुनु पर्ने ब्यवस्था छ । केही भौतिक पूर्वाधार लगायतको सूचक पुरा गर्ने काम समेत भईरहेको वडा अध्यक्ष बुर्जाले जानकारी गराए ।
बालमैत्री अभियानका कार्यक्रम संयोजक मानव अधिकार मञ्च नेपाल इलामका रुद्र थेबेका अनुसार वडा समिति गठन भई क्रियाशिल अवस्थामा छ । बालमैत्री आचारसंहिता तथा नीति कार्यविधी तर्जुमा गरी कार्यान्वयन भएको छ । योजना तर्जुमा पूर्व बालभेला जसले तोकेको योजना समावेश समेत भएको छन् । यसका साथै बालमैत्री विद्यालय वातावरण र विपद व्यवस्थापन सम्बन्धी अतिरिक्त कक्षा सञ्चालन भई रहेका छन् ।
गाउँपालिकाले स्थानीय शासन अवलम्बन गरी गाउँपालिकालाई २०८३ सम्ममा बालमैत्री पालिका बनाउँने लक्ष्य लिएको छ । २०८१ साल भित्र वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणाको लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्दशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधी २०७९ बमोजिम आवश्यक चरण पुरा गरेको छ ।
९ सय ६७ जना बालबालिका रहेको वडा नम्बर ३ मा ४ सय ९४ बालक र ४७३ बालिका रहेका छन् । यो वडामा एक जना अपाङ्गता भएको पाइएको छ । बालबालिकाको आवश्यक खोप तथा स्वाथ्य सेवाको उपभोगमा पहुँच पुग्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
बालबालिकाको शिक्षाका लागि १० विद्यालय रहेका छन् । बालबालिकाका लागि विद्यालय समेत पहुँच योग्य देखिएको छ । गाउँपालिकाको वडा नम्बर ३ सुलुबुङमा दुई माध्यमिक विद्यालय ६ आधारभूत सामुदायिक विद्यालय र २ आधारभूत संस्थागत विद्यालय रहेका छन् ।
जिल्लामा यस अघि सूर्योदय नगरपालिका मात्रै बालमैत्री नगरपालिका घोषणा भएको छ ।