बाङ्ग्लादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएपछि विदेश पलायन


सेवारो खबर  67 पटक हेरिएको

बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि विदेश पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै दिनको अन्त्यसम्ममा कुनै “समाधान” हासिल हुने पनि बताए । तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् ।

हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरण आएका छन्।

उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइसकेको छैन ।

तर कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन् । तर त्यसको पुष्टि भइसकेको छैन ।

यसअघि बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको त्रिपुरा राज्यस्थित अगरतलातिर गएकी बताएका थिए। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन् ।

ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन् । जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन ।”

रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ ।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।

टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ ।

केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ ।

प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन् ।

ढाकामा रहेका बीबीसी बाङ्ग्लाका संवाददाताहरूका अनुसार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमा तोडफोड गरेका छन् भने सहरमा ठूलो परिमाणमा लुटपाट भइरहेको छ ।

गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको छ । शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन् ।

बाङ्ग्लादेशको स्वतन्त्रतामा प्रमुख भूमिका निर्वाह गरेका शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए । त्यही समयमा उनको हत्या भएको थियो ।

प्रदर्शनकारीहरूले उनको सम्मानमा निर्माण गरिएको सङ्ग्रहालयको एउटा भागमा पनि आगो लगाइदिएका छन्।

सेनाको भूमिका कस्तो

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो ।

हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बाङ्ग्लादेशका सेनाप्रमुख वकार उज-जामनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उनले भने ।

हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् ।

उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा “समाधान निस्किने” अपेक्षा गरेको बताए। यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

तर बाङ्ग्लादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग” सम्बोधन गरिने बताए ।

उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन्। उनले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन् ।

सोमवार बिहानैदरेखि ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।

यसैबीच शेख हसिनाका छोरा सजीव वाजेद जोयले अब आफ्नी आफ्ना राजनीतिमा नफर्कने बताएका छन् ।

बीबीसीको न्यूज आवर कार्यक्रमलाई अन्तरवार्ता दिँदै उनले सात दशकसम्म कठिन मेहनत गर्दा सानो हिस्साले विरोध गरेको र त्यसले आफ्नी आमालाई ज्यादै दुखी तुल्याएको बताए ।

प्रधानमन्त्री हसिनाका सूचना प्रविधि सल्लाहकारसमेत रहेका  उनले भने, “मलाई लाग्छ, अब सकियो । मेरो परिवार र हामीले धेरै खेप्यौँ ।”@bbc.com बाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार