इलाम: बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ ।
उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु नेपाल पुलिसको वेबसाइटले जनाएको छ ।
गएको जेठ २८ गतेदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ८६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना छन् ।
अहिलेसम्ममा ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना बेपत्ता छन् ।
विपदमा परेका १ सय ८ जनाको उद्दार गरिएको छ । काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको उद्दार गरिएको छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम भएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाइएको छ ।