बैदेशिक रोजगारीको नाममा खाडीमा बन्धक बनाएर ‘बलात्कार र जबरजस्ती गर्भपतन’ गर्न लगाइएको एक नेपाली चेलीको कथा


सेवारो खबर  57 पटक हेरिएको

“मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन,” उनले मलिन स्वरमा भनिन्, “छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन ।”

प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम ‘बबरमहल (३१५)’ भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् ।

स्वदेश फर्केपछि पनि उनी असुरक्षित महसुस गरी ‘कसैले नचिन्ने’ सहरमा पुगेर बसेकी छन् ।

“मलाई सात समुद्रपारि पुर्‍याएर बलात्कार गरियो । त्यस्तो (जबरजस्ती गर्भपतन) भयो भनेर आमालाई पनि सुनाउन सकिनँ,” यसो भन्दै गर्दा उनको आवाज पटकपटक अवरुद्ध भएको थियो ।

“परिवारकी एक सदस्यलाई चाहिँ अहिले थाहा छ । अरूलाई थाहा छैन,” बीबीसीसँगको टेलिफोन कुराकानीमा उनले भनिन् ।

‘बबरमहल (३१५)’ले केही वर्षअघिसम्म विदेश जाने सोच बनाएकी थिइनन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए ।

एक दशक बाहिर बसेर स्वदेश फर्किएका श्रीमान्‌सँग सम्बन्ध बिग्रियो । उनीहरू अलग भए ।

‘बबरमहल (३१५)’ बनीबुतो गरेर माइतीमा बस्दै आफ्नो सन्तान हुर्काउन थालिन् ।

बनीबुतोको कमाइले मात्र भएन भनेर उनले विदेश जाने सोच बनाइन् ।

“सीप सिकेर जाँदा राम्रो भन्ने सुनेकाले मैले ब्यूटी पार्लर तालिम लिएँ,” ‘बबरमहल (३१५)’ले भनिन् ।

कतिपय म्यानपावर कम्पनीहरूमार्फत् खाडी मुलुकमा जाने प्रयास गर्दा उनले सफलता पाइनन् ।

“त्यसै बेला कोभिड आयो र मैले विदेश जान पाइनँ । कोभिड सकिएपछि भने फेरि सुरु गर्नुपर्‍यो भन्ने भयो,” उनले भनिन् ।

कुनै माध्यमबाट उनले एकजना ‘एजेन्ट’को नम्बर पाइन् । फोन गरेर विदेश जाने सोच बताइन् । उनले सहयोगको आश्वासन दिएर काठमाण्डू बोलाए ।

ती दलालले दुबईस्थित महिला बस्ने गरेको एउटा ‘होस्टलमा काम गर्ने भए पठाइदिन्छु’ भनेको उनी बताउँछिन् ।

“सुरुमा ३५ हजार अनि तीन महिनापछि ४५ हजार (रुपैयाँ) मासिक पैसा हुन्छ भनेका थिए,” ‘बबरमहल (३१५)’ भन्छिन् ।

त्यसपछि आफूलाई दुबईबाट अर्को नेपाली दलालले भिडिओ कल गरेर अन्तर्वार्ता लिएको उनले बताइन् ।

“मलाई कामको कुरा सोधेनन्। ‘बिहे गरेको छ कि छैन ?’ ‘उमेर कति ?’ ‘बोइफ्रेन्ड छ कि छैन ?’ जस्ता प्रश्न सोध्दा शङ्का त लागेको थियो तर त्यस बेला काम चाहिएकाले मैले खासै ध्यान दिइनँ,” उनले भनिन् ।

“दुई लाख रुपैयाँ लाग्छ भने र मैले पैसा बुझाएको पनि २७/२८ दिनपछि बल्ल भिजिट भिसामा दुबईका लागि एअरपोर्ट पठाइदिए ।”

सुरुमा नेपाली अध्यागमन अधिकारीहरूले उनलाई ‘भिजिट भिसा’मा जाने प्रयोजनबारे प्रश्नहरू सोधेर रोकिदिएका थिए । तर दलाललाई फोन गरेको आधा घण्टापछि उनी जान पाइन् ।

“मेरो ब्याङ्क खातामा एक पैसा पनि थिएन तर एजेन्टले ‘६ लाख रुपैयाँ भएको स्टेट्मेन्ट निकालेर देखाउनू’ भन्दै दिएका थिए । त्यो सबै सेटिङमा भएको भन्थे,” उनले भनिन् ।

भिजिट भिसामा दुबई पुगेकी उनलाई एउटा घरमा लगियो । त्यहाँ अन्य नेपाली महिलाहरू पनि थिए ।

“अरू दिदीहरू हुनुहुन्थ्यो तर कोही पनि बोल्न खोज्नुहुन्थेन । हामीलाई कोठामा राखेर त्यो नेपाली दलाल बाहिरबाट गेट लगाएर जान्थ्यो । पासपोर्ट पनि उसैसँग थियो,” उनले भनिन् ।

त्यस बेलासम्म पनि उनलाई ‘भिजिट भिसामा आएकाले त्यसरी बस्नुपरेको’ जस्तो लागेको थियो ।

विस्तारै त्यहाँबाट महिलाहरूलाई अन्यत्र पठाउन थालियो । विभिन्न देशका पुरुषहरू आउन थाले । ती नेपाली दलाल र अन्य पुरुषले दुर्व्यवहार गर्न थाले ।

“बल्ल मलाई नर्कमा पुगेकी रहेछु भन्ने थाहा भयो,” उनले भनिन्, “त्यो नेपालीले सुरुमा जबरजस्ती गर्‍यो । अरू दिदीहरू भएका बेलामा केही हुँदैनथ्यो तर बिस्तारै पाकिस्तानी र बङ्गाली मान्छे पनि आएर त्यस्तै गर्न थाले ।”

बन्धक अवस्थामा लगातार यौन दुर्व्यवहार र बलात्कारको सिकार भएकी उनी गर्भवती भइन् ।

त्यहाँका नेपाली दलालले उनलाई “जे हुनु भइहाल्यो, मेरो गल्ती हो, एक पल्टलाई माफ गर” भनेको उनी सम्झन्छिन् ।

उनका अनुसार त्यसपछि उनको त्यही घरमा जबरजस्ती असुरक्षित ढङ्गले गर्भपतन गराइयो ।

“मैले जीवनमा त्यस्तो पनि भोग्नुपर्ला भन्ने सोचेकै थिइनँ । नेपालमा कुरा गर्दा पनि सुरुसुरुमा त ‘राम्रै छ’ भनेँ, पछि भन्न खोज्दा पनि सकिनँ,” उनी भन्छिन् ।

त्यहाँका दलालले उनीहरूलाई नेपालमा आफन्तसँग फोन गर्दा पनि यथार्थ कुरा भन्न दिँदैनथे । त्यस्तो भन्न खोजे प्रहरी बोलाएर थुन्ने धम्की दिन्थे ।

“एक दिन मैले नेपालको दलाललाई फोन गरेँ । ‘नेपाल फर्काउनुहोस्, नत्र परिवारलाई भनेर प्रहरीमा उजुरी गर्न लगाउँछु’ भनेँ,” उनी भन्छिन् ।

“त्यसपछि ‘अब रित्तो हात फर्कनु हुँदैन, म कुवेतमा काम लगाइदिन्छु, त्यहाँ २०० कुवेती दिनार तलब हुन्छ’ भनेर हामीलाई दुबईको मान्छेले कुवेतमा पठायो ।”

कुवेत पुगेपछि उनले थाहा पाइन्- त्यहाँ उनलाई दुई वर्षका लागि बेचिएको रहेछ ।

एकजना श्रीलङ्कालीले उनी र उनीजस्तै केही नेपाली महिलाहरूलाई विभिन्न स्थानमा घरेलु कामदारका रूपमा पठाउनका लागि किनेको त्यहाँ पुगेपछि मात्र थाहा भाएको उनी बताउँछिन् ।

कुवेतको कष्ट र स्वदेश फिर्ती

उनका अनुसार कुवेतमा उनीहरूलाई एउटा अँध्यारो कोठामा राखिएको थियो । खाना पर्याप्त दिइएको थिएन ।

त्यहाँका अधिकारीहरू अनुगमनमा आउँदा कार्यालयमा लगेर चिटिक्क पारेर राखिन्थ्यो र “सबै ठिक छ” भन्न दबाव दिइन्थ्यो ।

“पासपोर्ट उनीहरूसँगै थियो । बाहिर निस्किए जेल र फाँसीसम्म हुन्छ भन्थे । जे भन्यो, त्यो नमाने मरिएला भन्ने डर हुन्थ्यो,” उनले भनिन् ।

“एक दिन मैले दुबईको दलाललाई फोन गरेर ‘अब नेपालमा मेरो परिवारले उजुरी गर्छ’ भनेर धम्क्याएँ । त्यसपछि ऊ कुवेतमै आयो र हामीलाई सम्झाउन लाग्यो ।”

तर उनले नेपाल नफर्काए उजुरी गर्न लगाउने अडान लिएपछि दलालहरूले उनलाई दुई वर्षका लागि लिँदा एक हजार पाँच सय कुवेती दिनार अर्थात् करिब ६ लाख ७५ हजार नेपाली रुपैयाँ तिरेको बताए ।

“त्यो पैसा दिए मात्र नेपाल फर्कन पाइन्छ भनेपछि मैले हारगुहार गरेँ । दु:ख पाएको कुरा नै बताएपछि आफन्तहरूले रकम पठाइदिए,” उनले भनिन् ।

“त्यसपछि म पैसा बुझाएर नेपाल फर्किएँ अनि प्रहरीमा उजुरी गरेँ ।”

अहिले उनलाई खाडी पठाउने नेपालका एक जना दलाल पक्राउ परेका छन् । तर दुबईमा रहेका नेपाली दलालसहित अन्यलाई प्रहरीले केही गर्न सकेको छैन ।

नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूका अनुसार ‘बबरमहल (३१५)’को भन्दा खासै फरक पीडा छैन ‘बबरमहल (३१६)’ को पनि ।

उनका अनुसार एक जना नेपाली दलालले आफ्नी श्रीमतीसमेत कुवेतमा रहेको भन्दै ९५ हजार रुपैयाँ लिएर ‘भिजिट भिसा’मा उनलाई कुवेत पठाएको थियो ।

उनी कुवेत पुगेपछि ती दलालकी श्रीमतीले ‘बबरमहल (३१६)’लाई दुई वर्षका लागि १,१५० कुवेती दिनार अर्थात् पाँच लाख नेपाली रुपैयाँमा बिक्री गरेको उनलाई पछि भनियो ।

बन्धक बनेका अवस्थामा उनीमाथि पनि यौनशोषण र अन्य खाले शोषणहरू भएको उनी बताउँछिन् ।

तीन महिनापछि भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी उनले आफ्नो शोषण गर्ने घरमालिकलाई १५० कुवेती दिनार बुझाएर स्वदेश फर्कनुपरेको बताइन् ।

उनलाई पठाउने नेपालस्थित दलाललाई अहिले प्रहरीले पक्राउ गरेको छ र उनी हिरासतमा रहेका छन् ।

यी दुई महिलाको जस्तै अवस्थामा पुग्ने केही नेपाली महिलाहरूले अहिले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी गरेका छन् ।

तर अनुसन्धान अधिकारीहरूका भनाइमा यस्तै बेचबिखनमा परेका अधिकांश महिलाहरूले रकम फिर्ता पाएको अवस्थामा उजुरीसमेत दिएका छैनन् । @bbc.comबाट ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार