इलाम: किरात याक्थुङ चुम्लुङ इलामले तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने भएको छ । चुम्लुङको शुक्रबार बसेको बैठकले भदौ १७ गते नेपाल आदिवासी जनजाति महासंघको हलमा स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसको अवसरमा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरिने छ । गरिब तथा जेहेन्दार दुई जनलाई छात्रबृत्ति दिइने छ । यस्तै किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोष छात्रबृत्ति र स्वर्गिय देविबहादुर आङबुहाङ स्मृति छात्रबृत्ति १/१ वितरण गरिने जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मीले जानकारी गराइन् ।
जेहेन्दार दुई जनलाई छात्रबृत्ति जनता माध्यमिक विद्यालय चुलाचुलीका १ इलामका कक्षा ९ का छात्र सुनिल लावती र माइजोगमाई ५ प्याङ माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा मौसमी सोङ्मीलाई प्रमाण पत्र सहित जनही ५/५ हजार दिइने छ ।
यसमध्ये किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोष छात्रबृत्ति सरस्वति माध्यमिक विद्यालय माङसेबुङ ५ इलामका लिहाङ माबोहाङ लिम्बुलाई लगातार पाँच वर्ष दिइने छ । स्वर्गिय देविबहादुर आङबुहाङ स्मृति छात्रबृत्ति इलान नगरपालिका ५ अमर माध्यमिक विद्यालय कक्षा ११का सेसेहाङ लिम्बुलाई नगद १० हजार प्रदान गरिने अध्यक्ष सोङमीले बताइन् ।
बैठकले स्थापना दिवसको अवसरमा चुम्लुङ हिम निर्माण गर्न आर्थिक संकलन अभियान शुभाराम्भ गर्ने भएको छ । चुम्लुङ हिम निर्माण आर्थिक संकलन तथा जग्गा व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिमा अध्यक्ष उपाध्यक्ष सचिव सह सचिव र कोषाध्यक्ष रहेका छन् ।