इलाम: इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिर अन्तिम साता हुने भएको छ ।
प्रतियोगिता मंसिर २२ देखी २९ गतेसम्म हुने आयोजक रेडहर्ष क्लब इलामले पत्रकार सम्मेलन गरी बुधबार जानकारी गराएको हो ।
इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ वटा ए डिभिजनका क्लबहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताइएको छ ।
खेलमा नेपालका चर्चित फुटबल क्लब सहित विदेशी टिमको समेत सहभागिता रहने आयोजक रेड हर्ष फुटबल क्लब अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।
प्रतियोगिता विजेताले मेडल, प्रमाण पत्र सहित नगद दश लाख हात पार्नेछ । उप विजेता टिमले मेडल प्रमाण पत्र सहित सहित नगद पाँच लाख प्राप्त गर्ने क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले बताए ।
गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशी दोब्बर बनाइएको हो । पहिलो संस्करणमा विजेता टिमले नगद पाँच लाख र उपविजेता टिमले दुई लाख पचास हजारमा हात पारेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न ७८ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । पहिलो संस्करण २०८० माघ छ गते देखी १३ गतेसम्म सञ्चालन भएको थियो ।