इलाम: चेतना नाट्य समूह इलामको नाटक घरजम राष्ट्रिय नाटक महोत्सव २०८१ काठमाण्डौमा प्रदर्शन हुँने भएको छ ।
हरी प्रसाद कल्याणी रीमाल नाट्य सङ्गीत प्रतिष्ठानको आयोजनामा आउँदो भदौ ३० देखि असोज २ गतेसम्म हुने महोत्सवमा घरजम देखाउन लागेको चेतना नाट्य समूहले जनाएको छ ।
काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने घरजम नाटकको अन्तिम तयारी पुरा हुन लागेको छ । सम्पूर्ण व्यवस्थापन सहित इलाम सदरमुकाममा करिब महिना दिन बढी रिर्हलसल, बन्द प्रशिक्षण सञ्चालन गरेर नाटकको अन्तिम तयारी पुरा गर्न लागेको चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए ।
साहित्यकार माधव भँडारीले लेखेको नाटक घरजम ५० वर्ष अघिको नेपाली गाउँको कथा हो । कथाको निर्देशन सुरेश पोर्तेल र अन्वेश थुलुङले गरेका छन् ।
नाटक घरजममा सामान्य नेपाली समाजमा विबाहित महिलाले भोग्नु पर्ने पारिवारिक समस्याको उजागर गर्न खोजिएको छ । महिलाले अवसर पाएमा समाज रुपमान्तरण योगदान दिन सक्छिन । यतिबेला महिलालाई समाजले अवसर, सहयोग र समन्वयमा पछि पार्न नहुँने सशक्त आवाज बोलेको नाटकका निर्देशक सुरेश पोर्तेलले बताए ।
विवाह गरेकी महिलाले कर्म घरमा परिवारका सदस्यसँग रहदा बस्दा सासु आमाको बुहारी प्रतिको व्यबहार, पतिले पत्नि र आमासँग दोहोरो सन्तुलित व्यबहार देखाउन खोज्दा घरजम टुट्ने र जोडिन आउने परिदृष्य हेर्न सकिने छ । यसका साथै घरजमका आवश्यक आधारहरुको निर्माण गर्न सशक्त सन्देश दिने नाटकका अर्का निर्देशक अन्वेश थुलुङले जानकारी गराए ।
करिब ४५ मिनटको नाटकमा सरिता राई, भावना अपाङ्गी मगर, सुशान्त चापागाई, समिर राई, रेबिका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाको कला हर्न सकिने छ । नाटकको बाध्यवादन तथा गीतमा निर्मल राई र प्रितिका मुखिया रहेका छन् ।