इलाम: कालो पत्रे सडकको दुरावस्था भोगेपछि नेपालटार मंगलबारे सडकको स्थानीय उपभोक्ताले सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिन माग गरेका छन् ।
उनिहरुले जिल्ला प्रशासन कार्यालय र डिभिजन सडकमा ज्ञापन पत्र बुझाउँदै सडक मर्मतको जिम्मा कसको हो ? टुङ्गो लगाउँदै यथासिघ्र मर्मत गरी दिन सरोकारवालासँग माग गरेका छन् ।
कार्यबाहक वडा अध्यक्ष मनकुमार गुरुङ गुरुङको नेतृत्वमा सोमबार ज्ञापन पत्र बुझाउन पुगेका उनिहरुले जसले भएपनि यथासिघ्र सडक मर्मत गरिदिनु पर्नेमा जोड दिए ।
भत्किएको सडकमा दुर्घटना भए कसले जिम्मेवारी लिने यस विषयमा समेत टुङ्गो लगाई दिनु पर्ने स्थानीयवासीको भनाई छ ।
१२ किलो मिटर भत्किएको सडक मर्मत गरिदिन ज्ञापन पत्र दिन गएका स्थानीवासीलाई नेपालटार मंगलबारे सडक डिभिजनको जिम्मेवारीमा नभएको जानकारी दिदैं तत्काल मर्मत गर्न आवश्यक खर्च समेत नभएको डिभिजन सडकका निमित्त प्रमुख प्रेमकुमार लिम्बूले बताए ।
११ वर्षमा २ पटक कालो पत्रे गरिएको सडक भत्किएर जिर्ण हुँदै गएपछि इलाम नगरपालिका वडा नम्बर १ नेपालटारका स्थानीयवासीले सडक डिभिजन कार्यालयको जिम्मेवारी नभएको सडक कसले मर्मत गरिदिनु पर्ने हो टुङ्गो लगाई दिन तीनै तहका सरकारसँग माग गरे ।
भत्किएको सडक जिल्ला प्रशासन कार्यालयले हप्ता दश दिन भित्रमा आवश्यक स्रोतको खोजी गरी सामान्य खाल्डाखुल्डी पुरिदिने आश्वास पाएको कार्यबाहक वडा अध्यक्ष गुरुङले जानकारी गराए । उनका अनुसार सडकको समस्याको बारेमा सडक र प्रशासन कार्यालयले प्रदेश तथा संघीय मन्त्रालयसम्म जानकारी गराई सडक मर्मतको पहल गरिदिने प्रतिबद्धता जनाएका छन् ।
सडक भत्किएर स्थानीय सरकारको पहुँच भन्दा बाहिर गएको जानकारी गराउँदै कार्यबाहक अध्यक्ष गुरुङ भने – ‘बिरामी, दैनिक उपभोग्य सामग्री. दुधको ढुवानी, तथा हरियो चिया पत्ती संकलनमा कारखानलाई समस्या परेको छ । सबैभन्दा धेरै विद्यालय आउँने जाने विद्यार्थीले पीडा भोग्नु परेको छ । धेरै विद्यार्थीले हिलाम्मे बाटोका कारण दुई जोर जुत्ताको व्यवस्था गर्नु परेको छ ।’
उद्योग वाणिज्य संघ इलामका श्री विष्टले सडक भत्किएर खाल्डो परेकोले ज्यानै जोखिममा राखेर हिड्नु पर्ने अवस्था रहेको बताए । उनले नेपालटार बजार क्षेत्रमा सडक भत्किएर हिलाम्मे भएपछि छिमेकीको घरसम्म जान नसकिने अवस्था रहेको बताउँदै यथासिघ्र मर्मत गरिदिन आग्रह गरे ।
जिल्लाको पश्चिमी गाउँसँग सदरमुकाम जोड्ने मुख्य मानिएको सडकमा ज्यानै जोखिममा राखेर यात्रा गर्नु परेकोले बाटोको बिकल्प खोज्न थालेको यातायात व्यवसायीको भनाई छ ।
देउमाई नगरपालिका, माङसेबुङ, चुलाचुली र फाकफोकथुम गाउँपालिकाको अधिकांश गाउँ जोड्दै धार्मिक स्थल गजुरमुखी धाम जाने यो बाटामा दैनिक साना ठूला गरी सय भन्दा बढी सवारीका साधन गुड्ने गरेका छन् ।
नेपालटार मंगलबारे सडक चुनाबी अजेण्डाको सौदाबाजीमा पर्ने गर्छ, तर राजनीतिक स्वार्थको कारण नेतृत्वले स्थानीयवासीको समस्यालाई ध्यान नदिदा लामो समयदेखि स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
ज्ञापन पत्र: