सूर्योदय नगरपालिकामा बार्षिक समिक्षा गोष्ठी सम्पन्न, ८८ प्रतिशत वित्तिय प्रगति


सेवारो खबर  49 पटक हेरिएको

इलाम: समृद्ध नगर निर्माण गर्न नगरले निर्धारण गरेको कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको सूर्योदय गरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

प्रमुख राईले नगरपालिकाको बार्षिक समिक्षामा बोल्दै नगरले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको आवधिक योजना र मध्यकालीन खर्च संरचनासँग सामञ्जस्यता कायम गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनलाई दीगो विकास लक्ष्य प्राप्तितर्फ लाग्ने जानकारी गराए ।

नगरपालिकाको बार्षिक समिक्षामा गत आर्थिक वर्षमा ८८ दशमलब ५४ प्रतिशत प्रगति भएको देखिएको छ ।

नगरपालिकाले बुधबार गरेको आर्थिक वर्ष २०८०/२०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयको समिक्षा कार्यक्रम गरेको जनाइएको छ ।

नगरको संशोधित वार्षिक बजेट एक अर्व ९३ करोड ८७ लाख पाँच हजार सात सय ८१ रुपैयाँ विनियोजन गरिएकोमा जम्मा ९६ करोड ८५ लाख ७७ हजार पाँच सय ९४ रुपैयाँ बजेट खर्च भएको छ ।

बजेट खर्च र कार्यान्वयमा ८८ दशमलब ५४ प्रतिशत बितिय प्रगति भएको नगरपालिकाले जनाएको छ  ।
गएको वर्ष चालु खर्चतर्फ ६९ करोड ८३ लाख ७५ हजार विनियोजन भएकोमा ६१ करोड ६० लाख ८७ हजार रुपैयाँ खर्च भयो । चालु खर्च तर्फको यो खर्च ८८.८२ प्रतिशत हो ।

पूँजीगत खर्चतर्फ ३९ करोड ५५ लाख बिनियोजन भएकोमा ३५ करोड २४ लाख ८९ हजार बजेट खर्च भएको छ । पूँजिगत रकमको ८९.१२ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिए ।

नगरको विषयगत समिति अन्तर्गत आर्थिक विकास तर्फ ८४.०४ प्रतिशत, सामाजिक विकास तर्फ ९२.२३ प्रतिशत, पूर्वाधार विकास तर्फ ८९.६३ प्रतिशत, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्र तर्फ ६६.१३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८३.८५ प्रतिशत वित्तीय प्रगति हासिल भएको समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षता र प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको समीक्षा गोष्ठीमा महाशाखा, विषयगत शाखा र वडाबाट प्रगति विवरण तयार गरी प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार