माङसेबुङ: प्रत्येक वर्ष इलामको माङसेबुङमा हुँने आत्मानन्द कप २०८१ अन्तरराष्ट्रिय फुटबल खेलको तयारी सुरु भएको छ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ ले बिहीबार पत्रकार सम्ममेलन गरेर तयारी शुरु भएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को अवसरमा मंसिर ९ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
माङसेबुङ गाउँपालिका–५ को प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिम सहभागी हुने खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपालको आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा खेलमा सहभागी हुने निश्चित भएको जनाइएको छ ।
खेलकुदमा पाँच लाख बढी पुरस्कार बितरण गरिदै
खेलकुद प्रतियोगितामा पाँच लाख बढी पुरस्कार बितरण गरिने छ । फुटबल खेलको बिजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छ ।
खेलको उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र हात पार्ने बताइएको छ ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई समेत नगद पुरस्कारबाट सम्मान गरिने जनाइएको छ ।
फुटबल खेलका साथै पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलह समेत संचालन हुनेछ ।
खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।