वर्षाले क्षति पुर्याएको काबेली कोरिडोरको टावर बन्यो, प्रसारण लाइनमा विद्युत जोडियो


सेवारो खबर  57 पटक हेरिएको

इलाम: माइखोलामा क्षति  भएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको मर्मत सोमबार सकिएको छ । प्राधिकरण र निजी क्षेत्रले संयुक्त पहलमा टावरको पुननिर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा पुनर्निर्माण तथा पुनस्र्थापना गरी सोमबार दिउँसो ४.३० बजेबाट प्रसारण लाइन सञ्चालनमा आएको जनाइएको छ ।

प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु प्राधिकरणले उपलब्ध गरायो । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरेको जनाइएको छ । मर्मतमा प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले मोहन कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् ।

मर्मतको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रकातर्फबाट पुनर्निर्माणमा खटिनु भएका ऊर्जा उद्यमी कार्कीले जानकारी गराए ।

गएको असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।

टावरमा क्षति पुगेपछि आयोजनाहरुबाट १२ असोजदेखि विद्युत् उत्पादन बन्द भएको थियो ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । क्षति भएको क्षेत्रमा प्रसारण लाइनलाई माईखोला पार गराएको छ । टावर भएको स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

क्षति पुगेको चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको बताइएको छ ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति भएको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको छ । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिहरुबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार