मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार’ आन्दोलन किन ?


सेवारो खबर  300 पटक हेरिएको

ताप्लेजुङ: पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभारा) मन्दिरसम्म पुग्ने केबलकार  निर्माणको विषयलाई लिएर तनाव चुलिँदै गर्दा ‘उच्च सुरक्षा सतर्कता’ अपनाइएको र नागरिकको हकअधिकार सुनिश्चित गर्न थप प्रहरी परिचालित गरिएको बताइएको छ ।

केबलकार निर्माण खारेजीको माग गर्दै विभिन्न समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकामा यातायात बन्दको घोषणा गरेका छन् ।

शनिवार प्रहरीसँग भएको झडपमा आफ्ना कतिपय समर्थकहरू घाइते भएपछि आन्दोलनकारी समूहले विभिन्न सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।

केबलकार निर्माणको विषयमा पक्ष-विपक्षमा जनमत बाँडिएको छ । निर्माण कार्यको जिम्मेवारी पाएका एक जना ठेकेदारले १५ महिनाभित्र काम सम्पन्न गर्ने हिसाबले आफूहरूले काम अघि बढाएको जनाएका छन् ।

नेपाल सरकारका गृहमन्त्रीले पूर्वी पहाडका जिल्लाका सांसदहरूसँग ताप्लेजुङमा भएका आन्दोलनबारे छलफल गर्नै लाग्दा आफूहरूले सुरक्षा सतकर्ता बढाएको स्थानीय प्रशासकले बीबीसीलाई बताएका छन् ।

तनाव

सुरुमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासको चरणसम्म आइपुग्दा अहिले आईएमई समूह यस आयोजनामा जोडिएको छ ।

गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरिएसँगै ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोत साधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै आन्दोलन चर्किएको छ ।

मुक्कुलङ क्षेत्रमा केबलकार मार्ग निर्माण गर्ने योजना सार्वजनिक गरिएसँगै त्यहाँ विभिन्न समूहहरूले नो केबलकार आन्दोलन चलाइरहेका छन् ।

पछिल्लो पटक शनिवार दुई पक्षबीच भएको झडपमा ‘नो केबलकार’ पक्षधर पाँच जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका तीन जनालाई हवाई उद्धार गरेर काठमाण्डू पठाइएको थियो ।

आन्दोलनकारी पक्षले गुलेली, लाठी र धारिलो हतियार प्रयोग गरेको अर्को पक्षको आरोप छ । प्रहरीले ‘खाना खाइरहेको अवस्थामा’ पाथीभराको संरक्षणमा लागेका आफ्ना समर्थकहरूलाई दमन गरेको र गोली चलाएको आन्दोलनरत पक्षहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू हाल खतरामुक्त रहेको अधिकारीहरूले बताएका छन् । त्यसबाहेक उक्त झडपमा नेपाल प्रहरीतर्फ १२ जना र सशस्त्र प्रहरीतर्फ ९ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

मङ्गलवारबाट सुरु भएको आन्दोलनको सम्भावित असरलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता कायम राखेको अधिकारीहरूले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बीबीसीसँग भने, “केबलकार निर्माणको विरुद्धमा रहेको समूहद्वारा अनिश्चितकालीन बन्द भनेर घोषणा गरिएको अवस्था छ । तर यहाँ होटेल, व्यवसाय र वाणिज्य खुलेको छ । चारपाङ्ग्रे सवारीसाधन चलेको छैन तर मोटरसाइकल चलिरहेको छ ।” उनले थपे, “शान्ति सुरक्षालाई बिग्रँन नदिन अहिले सुरक्षा निकाय उच्च संयम र उच्च सतर्कताका साथ एकअर्कासँग समन्वय गरेर नागरिकको जीउधन र स्वतन्त्रताको रक्षा गर्ने गरी उपस्थिति भएको छ ।”

‘नो केबलकार’ पक्षधर के भन्छन् ?

लिम्बु भाषामा ‘मुकुम्लुङ’ भनिने पाथीभारा ताप्लेजुङमा रहेको एक पवित्र तीर्थस्थल हो । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण उक्त धार्मिकस्थलमा पाथीभरा देवीको दर्शन गर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ ।

त्यसबाहेक पदयात्रा अनि कञ्चनजङ्घा र लोत्सेजस्ता हिमालहरूको दृश्यावलोकन गर्न पनि मानिसहरूले उक्त क्षेत्रको भ्रमण गर्ने गर्छन् ।

पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका खगेन्द्र फेम्बू पाथीभारामा केबलकार परियोजना निर्माण गर्दा त्यसले मुन्धुम संस्कृतिमाथि अतिक्रमण गर्ने र व्यापारिक स्वार्थ मात्रै पूर्ति गर्ने भएकाले उक्त निर्णय रद्द गरिनुपर्ने बताउँछन् ।

उनले भने, “यहाँ धार्मिक तीर्थयात्रीहरू बढिसकेका छन्। केबलकार बनाउँदा धार्मिक स्थल तहसनहस हुन्छ । विभिन्न प्रजातिका रुखहरू नष्ट गरिएकाले प्राकृतिक स्रोतसाधन र जैविक विविधतामा पनि क्षति पुगेको छ । रेड पान्डालगायतका जीवको वासस्थान पनि नष्ट गरिएको छ । त्यसबाहेक स्थानीय बासिन्दाको रोजीरोटी पनि खोसिनेछ ।”

फेम्बूले थपे, “जहाँ सम्भावना छ तर पर्यटकहरू जाँदैनन्, त्यहाँ यस्तो पूर्वाधार विकास गर्नुपर्ने हो ।”

उनले केबलकारको सट्टा सुकेटार-काफ्लेपाटी सडकको स्तरोन्नति लागि राज्यले जोड दिनुपर्ने बताए ।

उनले थपे, “हाम्रो परम्पराअनुसार माथिल्लो फेदीमा रहेको सानो मन्दिरबाट डाँडामा धागो बाँध्दै पाथीभरा देवीको मन्दिरसम्म पुग्नुपर्ने विश्वास छ। विकासको नाममा हाम्रो धार्मिक आस्थाको धरोहरमाथिको आक्रमण अस्वीकार्य छ ।”

प्राकृतिक स्रोतमाथि संविधानले स्थानीय समुदायलाई दिएको अधिकार केबलकार निर्माण गर्न दिने निर्णयले उल्लङ्घन गरेको भन्दै उनले लिम्बू समुदायको आस्थासँग जोडिएको विषयमा हस्तक्षेप गरिन नहुने बताए ।

उनी भन्छन्, “पर्यटन प्रवर्द्धनको कुरा गर्दा धार्मिक आस्था चानचुने कुरा होइन । पाथीभरा देवीको महत्त्व सबैलाई थाहा छ । यसमा कसैले खेलवाड गर्नुहुँदैन ।”

उनले पाथीभरामा भिड बढ्दा यस्तो महत्त्व खस्कने चिन्ता पनि प्रकट गरे ।

सङ्घर्ष समितिले आइतवार जारी गरेको विज्ञप्तिमा आन्दोलन नयाँ चरणमा प्रवेश गरेको भन्दै पक्राउ परेका समर्थकको रिहाइ, मुद्दा फिर्ता एवं प्रहरी तैनाथी बढाउने कदम पुनर्विचार गर्न भनिएको छ ।

केबलकारको समर्थनमा उभिएकाको तर्क के छ ?

स्थानीय अधिकारीसहित केबलकार परियोजना निर्माणको पक्षमा पैरवी गरिरहेको पक्षले लिम्बु र उनका साथीहरूको आन्दोलनलाई कोशी प्रदेशमा जारी रहेको पहिचानको आन्दोलनसँग जोडेर हेरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे नेपाल सरकारले अनुमति दिएर यो आयोजना अघि बढेकाले यसलाई रोक्न नहुने धारणा राख्छन् ।

उनले पाथीभरामा केबलकार परियोजना निर्माण हुँदा यसले ताप्लेजुङ जिल्लालाई ठूलो फाइदा पुग्ने बताए ।

उनले भने, “अहिलेसम्म एक दिनमा २१ हजार जनासम्मले पाथीभराको भ्रमण गर्नुभएको छ । केबलकार निर्माण भएपछि त्यो सङ्ख्या अझ बढ्छ। त्यही भएर हामी यो आयोजना रोकिनुहुन्न भन्ने पक्षमा छौँ ।”

उनले यो परियोजना रोकिए गलत सन्देश जाने भन्दै थपे, “त्यसपछि ताप्लेजुङ जिल्लामा कुनै ठूलो परियोजना बन्दैन। कोशी प्रदेश नामकरणको आन्दोलन पनि यहीबाट थप चर्किएर जान्छ ।”

पाथीभरा विकास समितिका अनुसार पाथीभरा देवीको मन्दिर आउने श्रद्धालुहरूलाई सघाउने काममा खटिने झन्डै ६०० भरियाको अभिलेख उक्त निकायसँग छ ।

केबलकार परियोजना निर्माण कम्पनीले उनीहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थेबेले सुनाए ।

त्यसबाहेक प्रभावित क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका, फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकाले एउटा टिकटबाट हुने १० प्रतिशत आम्दानी दिने प्रतिबद्धता जनाएको पनि उनले उल्लेख गरे ।

थेबेका अनुसार केबलकारको विरोधमा उभिएकाको सङ्ख्या सानो छ र कतिपयले जिल्ला वा देशबाहिर बसेर यो आन्दोलनलाई समर्थन गरिरहेको उनले दाबी गरे ।

निर्माणस्थलमा के काम भइरहेको छ ?

पाथीभरामा निर्माण आरम्भ भएको केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रूप प्राइभेट लिमिटेड बनाइरहेको हो ।

काठमाण्डूको चन्द्रागिरीमा रहेको केबलकारसहित उक्त कम्पनीले बुटवल र मौलाकालिकामा पनि केबलकार परियोजना सञ्चालन गरिरहेको छ ।

त्यसबाहेक पाथीभारासहित अन्य तीन ठाउँमा सो कम्पनीले केबलकार परियोजना निर्माणको काम जारी राखेको उसको वेबसाइटमा जनाइएको छ ।

पाथीभरा केबलकारको निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रोप्राइटर इन्द्र केदेमले आफूहरूले १५ महिनामा काम सम्पन्न गर्ने लक्ष्य राखेको र केबलकार जडानको काम जर्मन कम्पनीले गर्ने बताए ।

उनी भन्छन्, “हामीले यहाँ १५ दिनभित्र सशस्त्र प्रहरीको शिविर निर्माण गरिसक्छौँ। केबलकारतर्फ अहिले माटो सम्म्याउने काम भइरहेको छ । झन्डै १० प्रतिशत रुख कटानको काम बाँकी छ ।”

उनले थपे, “हामी सिभिल जति सबै कामहरू गर्छौँ । ठूला पोलहरूको काम जर्मनीको इलेक्ट्रो मेकानिकल कम्पनीले गर्छ ।”

उक्त केबलकार निर्माणमा झन्डै ३ अर्ब रुपैयाँ लाग्ने विवरणहरू आएका छन् ।

आन्दोलनरत पक्षका नेताहरूले उक्त परियोजनाका विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता दस्तावेजमा आफ्नो पहुँच नरहेको भन्दै कैयौँ गतिविधिहरू अनियमित ढङ्गले अघि बढाइएको आरोप लगाएका छन् ।

बीबीसीले यसबारे प्रतिक्रिया लिन आईएमई समूहका अध्यक्ष चन्द्र ढकालसँग सम्पर्क गरे पनि त्यो सम्भव भएको छैन ।

पाथीभरामा केबलकार निर्माणको विषयले शान्ति सुव्यवस्थामा चुनौती थपेसँगै समाधानका उपायबारे प्रतिनिधिसभामा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग गृहमन्त्रीले संवाद थालेको बुझिन्छ ।@bbc.com/nepali बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार