ताप्लेजुङ र उदयपुरका पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण फैलिएको पुष्टि


सेवारो खबर  139 पटक हेरिएको

इलाम: ताप्लेजुङ र उदयपुरमा लम्पी स्किनको सङ्क्रमण फैलिएको पुष्टि भएको छ । ताप्लेजुङको नौ पालिकामध्ये ६ पालिकाका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा.रोशन दाहालका अनुसार सबै भन्दा बढी मेरिङदेन गाउँपालिकाका १० र सबै भन्दा कम सिदिङ्वा गाउँपालिकाका २ पशुमा सङ्क्रमण देखिएको हो ।

सिरिजंघा गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । जिल्लाका मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म सङ्क्रमण नदेखिएको डा.दाहालले बताए  ।

लक्षण र पशु पालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रमुख डा.दाहालले जानकारी गराए । थप सङ्क्रमण बढ्न नदिनका लागि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत रोकथामका रणनीति अघि बढाइएको बताइएको छ ।

सङ्क्रमित पशुचौपायालाई छुट्टै गोठको व्यवस्था गरी राखिएको छ । संक्रमण देखिन थालेपछि यस आर्थिक वर्षको पछिल्लो समयमा ४ हजार ७ सय ५० पशुचौपायालाई खोप लगाइ सकिएको छ ।

उदयपुर जिल्लाका आठ पालिका मध्ये ७ पालिकामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । उदयपुरगढी गाउँपालिकामा अहिले सम्म लम्पी स्किन रोगको सङ्क्रमण देखा परेको छैन ।

जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बुका अनुसार जिल्लाको सात  पालिकामा लम्पी स्किन रोग सङ्क्रमित पशुमा फेला परेको छ ।

जिल्उलामा २ सय ४४ वटा पशुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण उदयपुरको त्रियुगा नगरपालिकामा ७८, कटारी नगरपालिकामा ७४, ताप्ली गाउँपालिकामा २८, रौतामाई गाउँपालिकामा २७, लिम्चुङबुङ गाउँपालिकामा २१, चौदण्डीगढी नगरपालिकामा ११ र बेलका नगरपालिकामा ५ पशु बस्तुमा देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटका सहायक पाँचौँ मिन प्रसाद सुवेदीकाअनुसार यस अघि जिल्लामा १५ हजार ४ सय ३ वटा पशुमा  लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ । उनकाअनुसार खोप लगाइएको पशुमा अहिले सम्म रोग फैलिएको छैन ।

उदयपुरमा ८६ हजार ९ सय ६४ गाई, ३९ हजार ४ सय तीन भैँसी, ८०८ भेडा, ३ लाख ४६ हजार ८२९ बाख्रा, ८७ हजार ७ सय १० बङ्गुर, ७ लाख ६५ हजार ७५० कुखुरा र १६ हजार ५१० हाँस रहेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाट सँग रहेको छ ।

लम्पी स्किन रोग विशेष गरी गाई, गुरु, राँगा, भैँसी, पाडापाडी, बाच्छाबाच्छीमा लाग्ने बताइएको छ । यो रोगबाट उन्नत नश्लका बढी उत्पादन दिने पशु बढी प्रभावित हुने गरेको विज्ञको भनाइ छ । हाल सम्म यो रोग भेडा बाख्रामा लागेको तथ्याङ्क छैन ।

लम्पी स्किन रोग लामखुट्टे, वा रगत चुस्ने झिँगा (डास), किर्ना, भुसुना र विभिन्न किराहरूबाट सर्ने गर्छ भने सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशु, लसपस भएको दानापानी, सोतरहरुबाट समेत सर्ने गरेको पशु विशेष डाक्टरहरूको भनाई छ ।

उदयपुरमा सङ्क्रमण फैलिन नदिनको लागि पशुपालक कृषकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन समेत आग्रह गरिएको छ ।@radionepalonline.comबाट ।

whatsapp sharing button
viber sharing button

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार