केही चिनियाँ नागरिकसहित २० जना अझै बेपत्ता पारेको रसुवा बाढीमा ८ शव फेला परे


सेवारो खबर  126 पटक हेरिएको

 

नेपाल-चीन सीमामा अवस्थित रसुवा जिल्लामा ल्हेन्देखोलामा अकस्मात् आएको बाढीका कारण केही व्यक्तिको मृत्यु भएको र केही चिनियाँ नागरिकहित अझै कम्तीमा २० जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

बाढीले दुई देश जोड्ने मितेरीपुल बगाएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटो पनि बन्द भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण पुगेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

नेपालको नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी अविरल वर्षासँग नभई हिमताल विस्फोटसँग सम्बन्धित हुन सक्ने सङ्केत गरेको छ।

अधिकारीहरूका अनुसार बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य गाडीहरू बगाएको छ।

रसुवा प्रहरीका अनुसार मङ्गलवार अपराह्णसम्म रसुवा जिल्लामा ५५ जनाको उद्धार गरिएको छ भने आठ जनाको शव फेला परेको छ। बाढीबाट गोसाईँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकाका विभिन्न वडाहरू प्रभावित भएका छन्।

बेपत्ता हुने मानिस को हुन्

मितेरीपुल क्षेत्रबाट सम्पर्कविहीन भएका १८ जनाको नाम सार्वजनिक भएको छ।

रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन सवारीचालक, छ नेपाली कामदार र छ चिनियाँ नागरिक छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले सम्पर्कविहीन नेपालीमध्ये नौ जना रसुवागढी नाकामा रहेको भन्सार यार्डमा कार्यरत थिए। उनीहरू विभिन्न जिल्लाका हुन्।

राससका अनुसार तीन सुरक्षाकर्मी र छ चिनियाँ नागरिकसहित हराइरहेका सबै जना पुरुष हुन्।

“मितेरीपुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्,” प्रमुख जिल्ला अधिकारी पौडेलले मङ्गलवार बिहान बीबीसीसँग भने।

रसुवा जलविद्युत् आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थानतर्फ लगिएको पौडेलले बताए।

बाढीका कारण विभिन्न ठाउँमा फसेका दुई सुरक्षाकर्मी र सात सर्वसाधारण नागरिकको पनि उद्धार गरिएको जानकारी उनले दिए।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले ल्हेन्देखोलामा पानीको सतह बिस्तारै घट्न थालेको जानकारी बीबीसी न्यूज नेपालीलाई दिए।

निजी हवाई सेवा प्रदायक कम्पनीहरूले बाढी प्रभावित मानिसहरूलाई रसुवाको टिमुरेबाट उद्धार गरिरहेको उनले बताए।

कसरी आयो बाढी

नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ‘भोटेकोशी’मा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मङ्गलवार बिहान ३ बजे आसपास तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ।

स्थानीय तहमा ‘भोटेकोशी’ भन्ने गरिएको भए पनि यो खोला सप्तकोशीको सहायक नदी सुनकोशीको माथिल्लो भाग भने होइन।

उक्त बाढी वर्षाका कारण नभई हिमताल विस्फोटका कारण उत्पन्न भएको हुन सक्ने सो निकायको आकलन छ।

महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’को ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट-बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स’ले भोटेकोशी जलाधार क्षेत्रमा विगत गत २४ घण्टामा वर्षा भएको देखिँदैन।

“भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तता नदी तटीय क्षेत्रमा बाढीको असर आकलनको लागि आज बिहान ७ बजे ‘सेन्टिनल एशिया प्ल्याट्फर्म’मा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमर्जन्सी अब्जर्भेशन रिक्वेस्ट (ईओआर) जारी गरिएको छ,” महाशाखाले भनेको छ।

यसअघि रसुवागढी प्रहरी चौकीले अविरल वर्षाका कारण बाढी आएको जनाएको थियो।

“बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरीपुल बगाई पूर्ण रूपमा क्षति भई मानिस र सवारीसाधनमा आवतजावत बन्द भएको छ,” प्रहरीले बिहान विज्ञप्तिमा जनाएको थियो।

बाढीका कारण त्यहाँ रहेको विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा क्षति भएको र सात-आठवटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको उक्त चौकीले जनाएको छ।

घटनास्थलको भिडिओमा मितेरीपुल पूरै ध्वस्त भएको देखिन्छ।@www.bbc.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार